कोरोनासँग जुध्न बाबुराम र प्रदिप गिरीसहित १७ जनाको सार्वजनिक पहल

चैत्र २३, काठमाडौं। पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, कांग्रेस नेता प्रदीप गिरी लगायतका व्यक्तित्वहरुको पहलमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप)को शुरुवात भएको छ। कोरोना भाइरसको महामारीविरुद्धको लडाइँलाई व्यवस्थित गर्न सरकारलाई सघाउने र जनस्तरमा जनचेतना फैलाउने उद्देश्यले कोमविसाप गठन गरिएको एक वक्तव्यमार्फत जानकारी दिइएको छ। 

कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न राजनीतिज्ञ लगायत विभिन्न क्षेत्रका युवा वौद्धिकहरु सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहलको शुरुवात गरिएको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए। 

‘कोरोना महाव्याधीलाई व्यवस्थापन गर्ने सवालमा नेपाल सरकारका विभिन्न कमिकमजोरी छन्, यद्यपि सरकारले गरेको कामलाई सहयोग गर्ने, जिम्मेवार बनाउन प्रश्न गर्ने, निगरानी गर्ने र कोरोना महाव्याधीले विभिन्न तरिकाले संक्रमितलाई सहयोग गर्न सहजीकरण गर्ने दायित्व हामी सबैको हो,’ समितिका तर्फबाट पाण्डेले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरिकाले सहयोग पुर्‍याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायतका विभिन्न कोणहरुबाट आवश्यक सुझावहरु सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पुर्‍याउने उद्देश्यका साथ समिति बनाइएको उनले जानकारी दिएका छन्। यो पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समिति बनाइने बताइएको छ। साथै अन्त्यमा राज्यले गरेका कार्य एवं यस अभियानले चालेका कदमबारेमा श्वेतपत्र जारी गरिनेछ। 

पहलको केन्द्रीय संयोजन समिति पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, प्रदीप गिरि, सांसद डा. कल्याणराज शर्मा, कृष्ण आचार्य, पूर्वसचिव जनकराज जोशी डा. दोभान राई, प्रदीप, बविम कुमार, डा. रेशम थापा प्राध्यापक लुना रन्जित, चिकित्सक डा. लोचन कार्की, चिकित्सक डा. ल्हामो शेर्पा, विश्वदीप पाण्डे, डा. सबिन निगलेखु, डा. सुरेन्द्र यादव चिकित्सक, पूर्व एआइजी सुरेन्द्र शाह, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेलगायत रहेका छन्।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =