५५ लाख राजस्व चुहावटको आरोपमा भन्सार अधिकृतसहित ५ जना विरुद्ध मुद्दा

बैशाख ३, काठमाडौं । राजस्व चुहावटको आरोपमा मेची भन्सार कार्यालयका अधिकृतसहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ लाख १० हजार ५ सय ९६ रुपैयाँ ३३ पैसा राजस्व चुहावट गरेको आरोपमा मेची भन्सार कार्यालय झापाका तत्कालिन भन्सार अधिकृत मनोजकुमार विकसहित ५ जना विरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको हो ।   

अधिकृत विक र नायव सुब्बा सनद खतिवडाले मिलेमतो गरी अन्तर्राष्ट्रिय ब्रान्डका सामान न्यून भन्सार महसुल र भ्याट निर्धारण गरी राजस्व चुहावट गरेको देखिन आएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।   

null

कोइरालाका अनुसार भन्सार अधिकृत र नायवसुब्बासँगको मिलोमतोमा पैठारी हुने वस्तुको यथार्थ विवरण नखुलाई सामानको नाम मात्र राखी जाँचपासमा सघाएको बुझिएको छ । 

आयोगले सागर एण्ड साधना विजनेश प्रालि काठमाडौंका सञ्चालक गंगाबहादुर घिमिरे र लिला बहादुर घिमिरे तथा भन्सार एजेन्ट दिपेन्द्रराज पाण्डेविरुद्ध पनि मुद्दा गरेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *