‘सरकारले प्रभावकारी कदम चालेको छ, घरमै बसेर सबैले साथ दिऔँ’

चैत्र २१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड १९) को जोखिम कम गर्न सरकारले चालेको कदमलाई साथ दिन आम नागरिकलाई आग्रह गरेकी छिन् ।  

आज (शुक्रबार) साँझ देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन तथा घरभित्रै बसिदिन आम नागरिकलाई आग्रह गरेकी हुन् ।  

आ-आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुने उनको भनाइ छ ।  

सरकारले प्रभावकारी कदम चालेकै कारण नेपालमा कोरोनाको सङ्क्रमण भयावह नभएको भन्दै उनले सरकारको प्रशंसा समेत गरेकी छिन् । सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको उनकाे दाबी छ । 

कोरोना भाइरसले निम्त्याएको लकडाउनले नेपालको मात्रै नभइ विश्वकै अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु अलि धेरै प्रभावित भैरहेको भन्दै त्यस्ता वर्गका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेको उनले स्मरण गराइन् ।  

यस्तै उनले विभिन्न देशमा रहेका नेपालीलाई जहाँ जस्तो अवस्थामा छन् त्यस्तै अवस्थामा सुरक्षित भएर बस्न पनि आग्रह गरिन् । सङ्क्रमित बिरामीको उपचारका लागि सरकार पुरै तयारी अवस्थामा रहेको भन्दै उनले अहोरात्र खटिरहने सबै निकायलाई धन्यवाद दिएकी छिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =