कोरोना संक्रमितको अनुभवः ‘…मानौँ म मर्न गइरहेकी छु !’

आफ्नो पतिसँग आती 

‘नर्सहरु पनि म जत्तिकै डराएका थिए,’ ४१ वर्षीया आती सम्झिन्छिन्, ‘ममा कोरोना भाइरस पोजिटिभ देखिएको खबर उनीहरुले यसरी सुनाएका थिए, मानौँ कि म मर्न गइरहेकी छु।’ 

बिरामी भएपछि आती एडिनबरास्थित अस्पतालमा भर्ना भएकी थिइन्। उनमा निरन्तर ज्वरो, खोकी, पेट र छातीको दुखाइ, सास फेर्न मुस्किल हुनेजस्ता लक्षण देखिएका थिए। स्वाद र गन्ध पनि थाहा पाउन छाडेकी थिइन्। 

आपतकालीन नम्बरमा फोन गर्दा घरमै बसेर आफ्नो लक्षणको उपचार गर्न उनलाई सुझाव दिइएको थियो। तर, खकारमा रगत देखिन थालेपछि भने उनलाई अस्पताल जान भनियो। 

बिरामी परेको १० दिनपछि बल्ल उनी अस्पताल भर्ना भइन् । अस्पताल भर्ना भएको तेस्रो दिन, अर्थात् बिरामी परेको १३ औँ दिन उनले खोक्दा झन् बढी रगत आउन थाल्यो। छाती पनि टमक्क भएर सास फेर्न अझ गाह्रो भयो । ज्वरो झनै बढ्यो । तर, त्यही राति उनलाई बिस्तारै निकाे हुन थाल्यो। 

‘म छक्क परेँ, त्यसपछि ज्वरो फर्केन,’ उनी भन्छिन्, ‘बल्ल आएर मेरो शरीर कोरोनासँग जुध्न थाल्यो। भोलिपल्ट अझै एक दिन यस्तै अवस्था रह्यो भने डाक्टरहरुले मलाई घर पठाइदिने भने।’ 

‘म ढुक्क भएँ। अस्पताल गएदेखि नै मलाई लागिरहेको थियो, अलि चाँडै भर्ना हुन पाएको भए हुन्थ्यो। कतै ढिला त भएन भनेर म डराइरहेकी थिएँ,’ उनले थपिन्, ‘मैले जिन्दगीमा भोगेको सबैभन्दा भयानक अनुभव थियो त्यो।’ 

बेलायतमा २९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । अझै हजारौँ बढी संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ। यो रोगले बेलायतमा २ हजार ३ सय ५२ जनाको मृत्यु भइसकेको छ। 

विश्वभर कोरोनाबाट संक्रमित पौने २ लाखभन्दा बढी मानिस निको भएका छन्। बेलायतमा कति निको भए, स्पष्ट तथ्यांक छैन। 

५१ वर्षकी बकिंघमसायरस्थित च्यालफन्ट सेन्ट पिटरकी लु को अनुभव पनि आतीको जस्तै छ । भन्छिन्– ‘म आजै मात्र ओछ्यानबाट उठेर उभिएकी हुँ। मेरो लागि यो निकै ठूलो घटना हो ।’  

गत साताको बुधबारसम्म उनलाई लागेको थियो– ‘ म मर्छु होला !’ उनी भन्छिन्, ‘त्यसबेला सास फेर्न पनि सकिरहेकी थिइनँ। मेरो होस गुम्दै गएको थियो।’ 

उनको घरमा आएका स्वास्थ्यकर्मीले उनलाई अर्धचेत अवस्थामा फेला पारेका थिए। लुको ज्वरो १०४ डिग्री नाघेको थियो। उनको रक्तचाप र अक्सिजनको मात्रा दुवै घटेको थियो। उनलाई पतिसहित अस्पताल कुदाइएको थियो। उनका पतिलाई पनि लक्षण देखिएको थियो। शुक्रबार आएको परीक्षणको नतिजामा उनलाई कोरोनाको संक्रमण देखियो। पछिल्लो नतिजा लु अझै कुरिरहेकी छन्। 

अस्पतालमा उनलाई सलाइन चढाइयो। अनेक प्रकारका औषधि पनि दिइयो। बल्ल उनको अवस्था स्थिर बन्यो। सास रोकिएलाजस्तो महसुस हुन छाडेपछि र ज्वरो निको भएपछि लुलाई अस्पतालबाट डिस्चार्ज गरियो । –(द गार्जियनबाट) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *