सरकारलाई गगन थापाको प्रश्नः जनताले लकडाउन मानेका छन्, अब सरकारले के गर्ने हो ?

चैत्र २५, काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमणको जोखिमबाट बच्न ‘लकडाउन’को निरन्तरता अनिवार्य भएको बताएका छन्। जनताले यसको पालना गरेर कोरोना महामारीविरुद्धको लडाइमा सकारलाई साथ दिइरहेको उनले बताए।
समाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले लकडाउनको निरन्तर पालना गरी साथ दिनसमेत अनुरोध गरे। लकडाउनबारे जनता सचेत रहेको उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरेका छन्, ‘तर यो अवधिमा सरकारले चाहिँ के गर्नु पर्छ ? के गर्ने हो ?’
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गर्ने भनिएको सम्बोधनबाट आफूले यी प्रश्नको जवाफको अपेक्षा गरेको उनले बताए।

“लकडाउन’को अवधि थपिएको छ। कोरोना संक्रमणको जोखिमबाट बच्न र यसको चेन तोड्न यो निरन्तरता अनिवार्य छ। लकडाउनमा जनताले के गर्नुपर्छ,के गर्नु हुँदैन? थाहा भैसक्यो, निरन्तर पालना गर्नेछौं। तर यो अवधिमा सरकारले चाहिँ के गर्नु पर्छ ? के गर्ने हो ? प्रधानमन्त्रीज्यू भोलिको सम्बोधनमा उत्तर सुन्न चाहन्छौ,’ उनले ट्विटरमा लेखेका छन्।
लगातारको लकडाउनसँगै जनतामा आर्थिक संकट गहिरि रहँदा सरकारले प्रत्यक्ष महसुस हुनेगरि राहतका प्याकेज ल्याउनुपर्ने माग चौतर्फी उठेको छ।








