प्रदेश २ सरकारले भन्याे- ‘निजी अस्पतालले उपचार नगरे कारबाही गरिन्छ’

चैत्र १९, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना संक्रमितको आशंकामा उपचारका लागि आएका बिरामीलाई सेवा नदिए निजी अस्पताललाई कारवाही गर्ने भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको त्रास रहेको समयमा बिरामीको उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भनेपछि निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार समेत गरिएको छ ।
पछिल्लो समय कोरोनाको महामारी विश्वभर फैलिरहँदा नेपालका निजी अस्पतालहरुले ती लक्षणसँग मिल्दाजुल्दा बिरामीलाई उपचार नगरी फर्काउने गरेको छ ।

यस्तो अवस्थामा निजी अस्पतालहहरुले बिरामीको सामान्य चेकजाँच नै नगरी फर्काउने गरेको पाइएको भन्दै सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले व्यवसायीक कर्तव्य, जिम्मेवारी निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ्ग होमलाई तत्काल अनुसन्धानका दायरामा ल्याई कारबाही प्रकृया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाउँदै निर्देशन दिएको हो ।
त्यस्ता स्वास्थ्य संस्थाहरुको कानून बमोजिम दर्ता खारेजी गर्ने चेतावनी दिँदै ती संस्थाहरुमाथि आवश्यक कारबाही प्रकृया जिल्लास्तरबाटै अगाडि बढाउन पत्रमा भनिएको छ ।








