घर जान थानकोट पुगेकाहरुकाे त्रिभुवन पार्कमै बास

फाइल तस्विर 

वैशाख ७, काठमाडौं । काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन लागेकाहरुलाई शनिबार त्रिभुवन पार्कबाट विभिन्न जिल्ला पठाइएकोमा उनीहरु आज आइतबार  थानकोटस्थित त्रिभुवन पार्कमा रोकिएका छन् । 

आइतबार घर जाने भन्दै थानकोट क्षेत्रमा पुगेकाहरुलाई प्रहरीले रोकेको हो । उनीहरुलाई आइतबारको रात त्रिभुवन पार्कमै राखिने भएको छ । 

शनिबार पैदल हिँडेर थानकोट पुगेका तीन सय जनालाई चन्द्रागिरि नगरपालिका र नेकपा सांसद अञ्जना विश‌ंखेको अगुवाईमा बस चढाएर घरतर्फ पठाइएको थियो । तर आइतबार जान पाइने आशामा थानकोट क्षेत्रमा पुगेकाहरु त्यहीँ रोकिएका चन्द्रागिरिका सञ्चारकर्मी दिनेश परियारले बताए । 

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जो–जुन स्थानमा छन् उनीहरुलाई होल्ड गर्नु भन्ने आदेश बमोजिम आइतबार घरतर्फ जान रोक लगाइएको जानकारी दिए । अहिले पार्क क्षेत्रमा करिब  १७५ जनालाई राति त्यहीँ राखिने एक स्रोतले बताएको छ ।  

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर जो जहाँ छन्, त्यही रोक्नु र खान नपाएको भए राहत पुर्याउनु भनि निर्देशन दिएका थिए ।  

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न ठाउँबाट हिँड्दै घर गइरहेकाहरूलाई आजदेखि जो जहाँ पुगेका छन् त्यहीँका स्थानीय तहले राख्ने बताएका छन् । आइतबार दिउँसो विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भिडिओ कन्फरेन्स गर्दै परराष्ट्रमन्त्री ज्ञवाली हिँड्दै गइरहेका श्रमिकहरूलाई स्थानीय तहले खाना र बस्ने व्यवस्था गर्ने जानकारी दिए। उनले सुरूमा स्थानीय तहहरूले राहत वितरण प्रभावकारी बनाउन नसक्दा र लकडाउन कति लामो समय चल्छ भन्ने अनिश्चितता हुँदा मजदुरहरू हिँडेरै घर गएको बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =