लकडाउनमा के गर्दैछन् मेलिना र सुविन ?

चैत्र २८, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै विश्व त्रसित बनेको छ । विश्वका कयौँ देशहरु लकडाउन छन् । दिनहुँ हजारौंको संख्यामा मानिसहरुले ज्यान गुमाइरहेका छन् । लाखौँ संक्रमित भएका छन् ।  

आज (शुक्रबार) बिहानसम्मको तथ्यांक हेर्ने हो भने कोरोना भाइरसका कारण विश्वभर ९५ हजार ७ सय १४ जनाले ज्यान गुमाइसकेका छन् । १६ लाख बढी संक्रमित भइसकेका छन् ।  

दिनहुँ बढिरहेको यो डाटा सुन्दा, पढ्दा र हेर्दा आम नागरिकहरु चिन्तित छन् । हरेक देशका नागरिक प्रार्थना गरिरहेका छन्– ‘कसैको ज्यान नजाओस्, कोरोना भाइरसको समाधान चाँडो पत्ता लागोस् ।’ 

भोको पेट भर्न अर्थात् दैनिक गुजाराका लागि काममा व्यस्त रहने नेपाली सर्वसाधारण जनताहरु लकडाउनका कारण पीडामा छन्, शोकमा छन्– ‘अब भोक कसरी मेटाउने ? चुलोमा के बसाल्ने, पेटमा के हाल्ने ?’ 

सर्वसाधारणको मात्रै होइन,  हरेकको दैनिकी परिवर्तन भएको छ । सेलिब्रेटी हुन् या धनाढ्य, कसैलाई व्यवसायको चिन्ता छ त कसैलाई भविष्यको । साथीभाईसँगको भेटघाट ठप्प भएको छ उनीहरुको । घरभित्रै थुनिन बाध्य भएका छन्, सबै ।  

यद्यपी गायिका मेलिना राईले भने लकडाउनलाई सामान्य रुपमा लिएकी छिन् । जनताकै लागि लकडाउन भएका कारण आफूले यसलाई सामान्य रुपमा लिएको, दैनिकीमा खासै असर नभएको उनी बताउँछिन् ।  

लकडाउनअघि उनको दैनिकी हुन्थ्यो– ‘स्टुडियो जाने । गीत रेकर्डिङ गर्ने । विभिन्न स्टेज प्रोग्रामहरुमा जाने, लगायत ।’ 

अहिले कहाँ–के गर्दैछिन् त मेलिना ?  

मेलिना अहिले काठमाडौंको गोकर्णस्थित आफ्नै घरमा छिन् । भन्छिन्– ‘बसीबसाईँ चलिरहेको छ । रेष्ट भइरहेको छ । फिल्महरु हेर्छु । गाउने अभ्यास पनि जारी नै राखेकी छु । परिवारसँग रमाइलो गर्दै बितिरहेको छ दैनिकी ।’ 

लकडाउनका कारण घुम्न, डुल्न पाएकी छैनन् । काम ठप्प भएको छ । तैपनि सन्तुष्ट छिन् मेलिना ।  

‘दैनिकी र काममा असर त परेको छ तर मैले यसलाई असरको रुपमा लिएकी छैन । सरकारले हामी नागरिककै स्वास्थ्य सुरक्षाको लागि लकडाउन गरेको हो’, मेलिना बताउँछिन् ।  

लकडाउन उल्लंघनको खबरहरु सुनिरहँदा उनलाई दिक्क लाग्छ आम नागरिक देखेर । मेलिना भन्छिन्– ‘यतिबेलासम्म त सबैजनाले थाहा पाइसक्नुभयो होला कोरोना भाइरस र लकडाउनको बारेमा । भाइरस देखिँदैन । कतै जाँदा तपाईँलाई पनि सर्न सक्छ अरुबाट । त्यसैले लकडाउनमा अटेरी नगर्नुस् ।’ 

यदि सरकारले प्रभावकारी रुपमा राहत वितरण गर्ने र कर्फ्यु स्तरको लकडाउन गर्ने हो भने नागरिकहरु बाहिर ननिस्कने उनको भनाइ छ ।  

– ‘सरकारले कर्फ्यु नै गर्नुपर्छ जस्तो लाग्छ मलाई । लकडाउनले पुगेन ।’ 

– ‘त्यस्तै दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आउनुभएका जनताहरुलाई दुई, तीन महिनासम्म पुग्ने गरी खोजीखोजी राहत दिनुपर्छ । पाउनुपर्ने मजदुरले नपाएको अवस्था छ । प्रभावकारी ढंगबाट राहत वितरण गर्नुपर्यो ।  

– ‘कतिपय नागरिकहरु कामका क्रममा घरबाट टाढा बस्नुभएको पनि हुन सक्छ, उहाँहरु जहाँ हुनुहुन्छ, त्यहीँ नै खान र बस्नको व्यवस्था गरिदिने हो भने सायद घर हिँड्नु हुन्नथ्यो, यो समय । दिनहुँ कोरोना संक्रमित बढिरहेका बेला यो एकदमै आवश्यक छ । अनि मात्रै लकडाउनको पालना हुन्छ ।’ 

केही दिन धैर्य गरी घरमै सुरक्षित बस्न उनले आम नागरिकलाई आग्रह समेत गरेकी छिन् ।  

– ‘केही दिनको कठिनाइ, दुःख, कष्ट सहेर घरैमा बसिदिनुस् । केही दिन कष्ट सहेर कोरोना संक्रमण हुनबाट बच्यौँ भने भोलिका दिनहरु एकदमै सुनौला हुनेछन् ।’ 

– ‘आफू पनि बच्नुस्, अरुलाई पनि बचाउनुस् !’ 

०००                         ०००                       ००० 

साहित्यकार सुविन भट्टराईको दैनिकी पनि उस्तै छ । उनको पनि लकडाउन त्यसैगरी बितिरहेको छ, जसरी आम नागरिकले बिताइरहेका छन् ।  

‘फिल्महरु हेर्छु । पढ्छु । अनि नयाँ पुस्तकको तयारी पनि गरिरहेको छु । लेख्छु’, सुविनले आफ्नो दैनिकी सुनाए ।  

सुविन अहिले चावहिलको कपनस्थित आफ्नै घरमा छन्, परिवारसँगै । सबै परिवार सँगै भएका कारण दैनिकी रमाइलै गरि बितिरहेको छ उनको । उनको सानो छोरा पनि छ, जसले दैनिकीलाई अझै सहज र रमाइलो बनाइदिएको छ । उनी जब आफ्नो सानो छोरासँग खेल्छन्, लकडाउनको पर्वाह हुन्न ।  

लकडाउनअघि कस्तो हुन्थ्यो त सुविनको दैनिकी ?  

सुविन भन्छन्– ‘दैनिकी नै खल्बलिने गरी लकडाउनले मेरो जीवनमा असर गरेको छैन । किनभने लकडाउन अघि पनि मेरो काम भनेको दिनभरी लेख्ने र पढ्ने हो । म प्राय घरमै  बस्छु । मन लागेको बेला साथीभाईसँग भेट्न, डुल्न पाइँदैन त्यतिमात्रै हो । इभिनिङ वाक पनि बन्द भएको छ ।’ 

आम नागरिकलाई पनि घर बाहिर ननिस्कन सुझाव दिन्छन् उनी । सकेसम्म आफूलाई व्यस्त राखेमा तनाव कम हुने सुविन बताउँछन् ।  

– ‘समाचार, सामाजिक सञ्जाल हेरेर तर्सिने, आत्तिने, डराउने नगर्नुस् । सामाजिक सञ्जालमा धेरै अल्मलिनु भन्दा क्रियटिभ कामतिर लाग्नुस्, क्रियटिभ कामहरु गर्नुस् ।’ 

– ‘पढ्न मन लाग्नेले पढनुस्, लेख्न मन लाग्नेले लेख्नुस् । ज्ञान दिने खालको सिनेमाहरु हेर्नुहोस्, आर्टिकलहरु पढ्नुहोस् ।’  

– ‘चिन्ता लिएर बस्नुभन्दा फोनमा कुरा गरेर, फेसबुकमा साथीभाइसँग च्याट गरेर पनि समय बिताउन सकिन्छ । सकेसम्म आफूलाई व्यस्त राख्नुस्, ताकि दिमागमा डर, त्रास, चिन्ताले ठाउँ नपाओस् ।’ 

सरकारले पनि लकडाउनलाई अझै कडा बनाइ थप दुई, तीन हप्ता लम्ब्याउनुपर्ने उनको भनाइ छ ।  

– ‘सरकारले कन्ट्रयाक्ट ट्रेसिङ र कोरोना परिक्षणको दायरा बढाउनुपर्छ । उपचारका लागि चिकित्सकहरुलाई आवश्यक साधनहरु उपलब्ध गराउनुपर्यो ।’ 

– ‘निजी अस्पतालहरुले कोरोना आशंकामा सामान्य बिरामी भएकाहरुको पनि उपचार नगरेको अवस्था छ । फर्काइदिएको छ । सरकारले यस्ता स्वास्थ्य संस्थाविरुद्ध कडा कदम चाल्नु आवश्यक छ ।’ 

– ‘हुन त सरकारमाथि धेरै अपेक्षा राख्नु हामी नागरिकको स्वभाव नै हो । नागरिकका लागि के कति गर्ने–नगर्ने भन्ने कुरा सरकारले नै निर्धारण गर्ने कुरा हो । तर यस्तो महामारीको अवस्थामा पनि सरकार भ्रष्टाचारतर्फ उन्मुख भएको देखिन्छ । यसले नागरिकप्रति सरकार उत्तरदायी देखिएको छैन भन्ने प्रष्ट हुन्छ ।’ 

– ‘सरकारले लकडाउनलाई पनि कडा रुपमा लागु गरी अवस्था हेरेर अझै दुई, तीन हप्तासम्म लम्ब्याउनु आवश्यक छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =