जहाँ विपन्न, त्यहाँ सपना !

चैत २५, चितवन । चितवनको सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्ट सामाजिक क्षेत्रमा स्थापित भईसकेको संस्था हो । आवश्यकता पर्दा जिल्लाको तराई भेगमा बस्ने सिमान्तकृत मुसहर समुदायदेखि पहाडको चेपाङ समुदायमा सचेतनामुलक कार्यक्रमदेखि आयआर्जनको काममा सहयोग गर्दै आईरहेको छ ।
जिल्लाको साविक सिद्धिका स्थानीयको आयआर्जनमा परियोजना सम्पन्न गरिसकेको सपना भिलेज सोसियल इम्प्याक्टले इच्छाकामना गाउँपालिका वडा नम्वर १ मा सोही प्रकारको परियोजना सुरु गरेको छ । गत वर्ष हुरी बतासले तराईमा पुर्याएको क्षतीमा मल्हम लगाउन चितवनदेखि पुगेर राहत वितरण गरेको सो संस्थाले अहिले स्थानीय सरकारसंगको समन्वयमा लकडाउनका कारण विहान बेलुका छाक टार्न गाह्रो परेकाहरुलाई राहत वितरण तीव्र पारेको छ ।
‘हामी एकलौटी रुपमा काम गर्दैनौँ’, सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले भने, ‘स्थानीय तहसँग मिलेर विपदमा परेकाहरुलाई उनीहरुको आवश्यकताअनुसार सहयोग गर्ने गर्छौँ ।’

अहिले सम्म संचालित परियोजना र सहयोगमा पारदर्शीता रहेको भन्दै प्रश्न चिन्ह नउठाउने गरी सामाजिक काम गरिरहेको अध्यक्ष गिरीको दाबी छ । आईतबार सौराहाको सामिप्यमा रहेको मालपुरका मुसहर समुदायलाई राहत प्रदान गरेको सपना भिलेज सोसियल इम्प्याक्टले मंगलबार रत्ननगर नगरपालिका वडा नं ८ मा बसोबास गर्ने अति विपन्न वर्गका समुदायलाई राहत वितरण गरेको छ । ज्याला मजदुरी गरेर जीविका गर्दै आएका ३१ घरधुरीलाई राहत प्रदान गरेको हो ।
वडा कार्यालयले उपलब्ध गराएको विवरणको आधारमा घरघरमै पुगेर राहत हस्तान्तरण गरिएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए । इम्प्याक्टमा कार्यरत कर्मचारी, वडाध्यक्ष विनोद बस्नेत र प्रहरीले राहत सामाग्री घरघरमै पु¥याएका थिए ।
परिवारको संख्याका आधारमा ५ किलो देखि २५ किलो चामल, एक किलो मस्यौरा, एक लिटर तेल, एक किलो नुन, ३,३ वटा हात धुने साबुन प्रदान गरेको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले बताए ।
राहत पाउनेमा मुसहर लगायत अति विपन्न वर्गका समुदाय रहेको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।
मंगलबारनै रत्ननगर ५ मा पनि सपना भिलेज सोसियल इम्प्याक्टले राहत वितरण गरेको छ । वडा कार्यालयको आग्रहमा वडा नम्वर ५ का ३० घरपरिवारलाई राहत वितरण गरिएको इम्प्याक्टका अध्यक्ष गिरीले बताए । वडाध्यक्ष कृष्ण महतोको उपस्थितिमा राहत वितरण गरिएको थियो ।








