प्रदेश २ सरकारको निर्णयः महामारीविरुद्ध खटिँदा मृत्यु भए पीडित परिवारलाई ५० लाख दिने

फाइल तस्विर 

चैत्र २८, काठमाडौं । प्रदेश नम्बर २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले ५० लाख राहत दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य सरकारी कर्मचारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोनाको सङ्क्रमणका कारण मृत्यु भए पीडित परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । 

त्यसैगरी, सो बैठकले लकडाउनले गर्दा किसान पीडित भएकोमा प्रदेश सरकारले किसानले बैङ्क तथा वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको व्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ । बैठकले कृषि फर्मका लागि किसानले पाँच लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ । 

पाँच लाखदेखि १५ लाख सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाखसम्म ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम व्याज तिरीदिने निर्णय गरेको सरकारका प्रवक्ता यादवले बताए । यसका अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा र माछामा यस निर्णय अतिरिक्त राहत उपलब्ध गराउने निर्णय भएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =