लकडाउन उल्लंघन भएपछि टोलवासी आफैँ हिँडे गस्तीमा

वैशाख ९, धरान । सुनसरीको धरानस्थित केही वडाहरुमा अत्याधिक रुपमा लकडाउनको उल्लंघन हुन थालेपछि स्थानीय आफैँले हातमा लौरो बोकेर गस्ती गर्न थालेका छन् । धरान–१६ जोरसखुवाका स्थानीय बासीन्दाले वडामा अनावश्यक मान्छे हिँड्न थालेपछि उनीहरु आफैँ हातमा लाठी बोकेर गस्तीमा हिँडेका हुन् ।  

धरानमा अन्य वडाको भन्दा वडा नम्बर १६ जोरसखुवामा सबैभन्दा बढी लकडाउन उल्लंघन हुन थालेपछि जोरसखुवा टोल विकास संस्थाको नेतृत्वमा स्थानीयले यसरी गस्ती सुरु गरिएको अगुवा हिम बाहदुर थापाले जानकारी दिए ।  

जोरसखुवामा योभन्दा अघि चौबिसै घण्टाजसो पसलहरु खुल्ला रहने गथ्र्यो भने विभिन्न वडा एवम् टोलहरुका मानिसहरु पनि यहाँ किनमेल गर्न, घुम्न जाने गर्थे । त्यसैले पनि स्थानीयले यो कदम उठाएका हुन् ।  

टोलमा बाहिरका मानिसहरु आउँदा कोरोना भाइरसको जोखिम भएकोले सम्झाउँदा पनि नमानेपछि टोल विकास संस्थाको नेतृत्वमा गस्ती शुरु गर्नुपरेको संस्थाका अध्यक्ष हिमाल कार्कीले जानकारी दिए । गस्ती टोलीले बिहान, दिउँसो र बेलुका गरी तीन समय गस्ती गर्ने गरेको पाइएको छ । त्यहाँ गस्ती भएपछि अहिले लकडाउन पूर्ण रुपमा पालना भएको बताइएको छ । बाहिरका मानिसहरु पनि आउन छोडेका छन् ।  

गस्तीमा पासविनाको गाडी भेटिएमा अबदेखि यता नआउन भनेर सम्झाउँदै पठाउने गरिएको पनि अध्यक्ष कार्कीले बताए । सो टोलमा पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला गरी आवश्यक सामानहरु किनमेल गर्न दिइएको छ । 

उता जोरसखुवाकै केही बासिन्दाहरुले भने टोल समितिका नाममा स्थानीयलाई दुःख दिने नियत राखेर आफूहरु बाहिर निस्कने मेलो गरेको गुनासो गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =