स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको बीमा गर्ने सुदूरपश्चिम सरकारको निर्णय

चैत, २७ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको जीवन बीमा गर्ने घोषणा गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको सुरक्षाका लागि १५÷१५ लाखको जीवन बीमा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकपछि निर्णय सार्वजनिक गदै मन्त्री शाहले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षाका लागि संघीय सरकारले ल्याएको २५ लाखको बीमा योजनामा प्रदेश सरकारले १५ लाख गर्ने निर्णय गरेको बताए ।

प्रदेश सरकारले आवश्यक व्यवस्थापन र विविध खर्चका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई १५÷१५ लाख, नौंवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पाँच÷पाँच लाख रुपैयाँ उपलब्ध गराउन निर्णय गरिएको मन्त्री शाहले जनाकारी दिए ।
यस्तै, प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने, प्रदेश सञ्चित कोषमा २०७६ फागुन मसान्तसम्म दाखिला गर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि २०७७ वैशाख मसान्तसम्म थप गर्ने र प्रदेशमा लकडाउन अवधिका लागि राहत मापदण्ड २०७६ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शाहले जानकारी दिए ।








