मेडिकल सामग्री खरिदका लागि पाँच देशलाई पत्राचार

चैत्र २६, काठमाडौं। स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि नेपाली सेनाले पाँच वटा देशलाई पत्राचार गरेको छ। सेनाले स्वास्थ्य सामग्रीका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरेको हो।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। परराष्ट्र मन्त्रालयले उक्त पत्र हिजो सम्बन्धित ठाउँमा पठाएको जानकारी प्राप्त भएको उनले बताए।
उनले भने, ‘हामीले आवश्यक स्वास्थ्य सामग्रीका लिस्ट पठाएका छौं।उताबाट कस्तो जवाफ आउँछ त्यसको आधारमा खरिद प्रक्रिया सुरू हुन्छ।’ ती देशहरूमा रहेका सैनिक सहचारीमार्फत् पनि स्वास्थ्य सामग्री खरिदका लागि पहल गरिएको पाण्डेले बताए।
स्वास्थ्य सामग्रीका लागि पत्र पठाइए पनि तत्कालै मागेको जति सामग्री पाउने सम्भावना भने न्यून छ। भारतले स्वास्थ्य सामग्री निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। दक्षिण कोरियामा फेरि कोरोना भाइरसको संक्रमण देखिएकाले मागेजति सामग्री पाउने संभावना देखिएको छैन।








