‘आउने दुई साता अझै चुनौतीपूर्ण, सावधानी अपनाएनौं भने स्थिति भयावह हुनसक्छ’

चैत्र २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आउँदो दुई साता चुनौतीपूर्ण हुने बताएका छन् ।  

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन् । आउँदो दुई साता थप चुनौतिपूर्ण रहेकाले परिक्षणको दायरा बढाइने र लकडाउनमा थप कडाइ गरिने उनको भनाइ छ ।  

प्रधानमन्त्री ओलीले नेपाल अहिले कोरोना भाइरस संक्रमणको जोखिमको दोस्रो चरणमा प्रवेश गरेको भन्दै सबै नेपाली सावधान र सचेत रहन पनि आग्रह गरे । सावधानी अपनाइएन भने भयावह स्थिति आउन सक्ने उनको भनाइ छ ।  

सरकारले मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेन्टाइन केन्द्रको व्यवस्था गरेको छ । मुलुकभर हाल ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा छन् भने ९५ जना आइसोलेसनमा उपचाररत छन् । ३ हजार २ सय ५९ क्षमताको आइसोलेसन वेड तयार गरिएको छ ।  

प्रम ओलीले सरकार सकभर संक्रमण फैलन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको बताए ।  

उनले कतिपय विदेशी मुलकुकको तुलनामा प्रभावकारी कदम चालेको भन्दै विभिन्न मुलुकहरुले नेपालको प्रशंसा गरेको समेत दाबी गरे । 

यस्तै उनले श्रमिकहरु मर्कामा परेको आफूलाई ज्ञात भएतापनि जोखिम नियन्त्रण गर्नका लागि थप ८ दिन लकडाउन गरिएको बताए ।  

‘श्रमिकहरु मर्कामा छन् । व्यवसायीहरुको व्यवसायी बन्द छ । विद्यार्थीको पढाइ छुटेको छु । एकान्तवासको परिस्थिति म बुझ्न सक्छु’, उनले भने, ‘महामारी रोक्न लकडाउन अपरिहार्य छ । लकडाउनले सघाएको छ ।’ 

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था सहित सरकार, तपाईहरुको समग्र सुरक्षामा प्रतिवद्ध रहेको पनि उनले बताए ।  

प्रधानमन्त्रीले महामारी विरुद्ध समयमै चालेको कदमका कारण सयौंको जीवन जोगिएको उल्लेख गर्दै आउने केही हप्ता अलिकति साह्रो–गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिने उल्लेख गरे। उनले भने, ‘आउनुहोस्, फेरि एकपल्ट ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =