अस्थिरता बढाउने गतिविधि नगर्न राप्रपाको आग्रह

वैशाख ९, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपाभित्रको आन्तरिक शक्ति संर्घषका कारण देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको बताएको छ। सरकारले हालै जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश अनावश्यक र संविधानको भावना विपरित रहेको जनाएको छ।
कोरोना भाइरस(कोभिड–१९) विरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्नेमा सरकार अनावश्यक काममा अल्झिएको राप्रपाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘कोभिड–१९ को महामारीविरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको ‘राजनीतिक दलसम्बन्धी’ र ‘संवैधानिक परिषद्सम्बन्धी’ दुई अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत रहेको राप्रपाको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ।
संवैधानिक परिषद् अध्यादेशले शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने विज्ञप्तिमा टिप्पणी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चुनौति सामना गरिरहेको अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न सरकार र नेकपालाई राप्रपा आग्रह गर्दछ।’









