लकडाउनमा नायिका वर्षालाई पशुपंक्षीको चिन्ता, आफैँ बाँड्दैछिन् खाना !

चैत्र १९, काठमाडौं । यतिबेला देश पुरै लकडाउन छ । हुनेखानेहरु घरमै परिवारसँग बसेर दिनैपिच्छे मिठा–मिठा परिकारहरु खाँदै दिन कटाउँदै छन् ।  

हुँदा खाने तथा दैनिक ज्याला मजदुरीले छाक टार्नेहरु भोक र शोकमा छन्– ‘परिवार कसरी पाल्नु !’ 

हुँदा खाने हुन् या हुनेखानेहरु हुन्, सबैलाई आफ्नै पेटको चिन्ता छ । लकडाउनबाट आइलाग्ने आर्थिक संकट र भोकमरीको परिकल्पना गर्दै त्रासमा बाँचिरहेका छन् ।  

आफ्नै परिवारको चिन्तामा डुबेका छन् । यस्तो अवस्थामा मानव आश्रित ती जनावरको चिन्ता कसले गर्ने ? परिवारकै चिन्तामा डुबेपनि अधिकांशको मनमा कतै न कतै यो चिन्ता पक्कै छ कि– ‘ती जनावर के खाएर बाँच्लान् !’ तर कसले भर्ने तिनीहरुको पेट ? 

कतिपयले भने आफ्ना वरिपरिका पशुपंक्षीहरुलाई आफूले सकेजति गाँस काटेर खुवाइरहेका छन् । नायिका वर्षा शिवाकोटी पनि यतिबेला आफ्नो घर छेउका कुकुरहरुलाई खाना खुवाइरहेकी छिन्  । 

सामाजिक सञ्जालमा कुकुरलाई खाना बाँड्दै गरेकाे तस्विरहरु पोष्ट गर्दै उनले लेखेकि छिन्– ‘दिनदिनै नयाँनयाँ परिकारहरु घरमा बनाएर खाइरहेका छौँ तर यीनीहरुको बारेमा कसले सोच्ने ? जो हाम्रो खानामा निर्भर छन् ।’ 

यसबाटै प्रष्ट हुन्छ कि उनीभित्र कलाकारिता मात्रै होइन, पशुपंक्षीप्रतिको प्रेम पनि छ ।  

‘न बोल्न नै सक्छन्, न भोक लाग्यो भन्न नै ! हामी सबैमा यीनीहरुप्रति माया नहोला तर मानवता भने पक्कै छ ! आफ्नो घर वरिपरिका जनावरहरुलाई आफूले सक्ने सम्म खाना खुवाउँ’, उनले फेसबुकमा लेखेकी छिन् ।  

विश्वभर फैलिएको कोरोना महामारीका कारण यतिबेला नेपालसहित कयौँ देश लकडाउनमा छन् । विश्भर कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या आज बिहानसम्म मात्रै  ४२ हजार नाघिसकेको छ भने ८ लाख ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । नेपालमा भने हालसम्म पाँच जनामा मात्रै कोरोना संक्रमण देखा परेको छ । एकजना निको भइसकेका छन् भने अन्य ४ जनाको अवस्था सामान्य छ ।  

नायिका वर्षाले यसअघि प्रधानमन्त्री राहत कोषमा एक लाख रकम सहयोग गर्ने घोषणा गर्दै भनेकी थिइन्– ‘देश लकडाउन छ । आजको दिनसम्म देशभित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन । म भगवानसँग यही प्रार्थना गर्दछु कि हाम्रो देश र हामी नेपाली कसैलाई केही नहोस् ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *