विदेशमा रहेका विद्यार्थीलाई सहायता गर्न ‘इक्यान कोभिड–१९ इमरजेन्सी रजिष्ट्रेसन फर्म’ शुरु

चैत्र २३, काठमाडौं । कोरोना भाइरसका कारण कोही विद्यार्थी विदेशमा अफ्टेरोमा परेको भए नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले सहयोग गर्न अनलाइन फर्म सार्वजनिक गरेको छ । इक्यानले विश्वभरका देशहरुमा उच्च शिक्षाका लागि गएका नेपाली विद्यार्थीहरुलाई सहायता गर्नकोलागि अनलाइन फर्म तयार पारेको हो । विश्वका जुनसुकै देशमा जुनसुकै कन्सल्टेन्सी मार्फत गएका विद्यार्थीले इक्यानको http://tiny.cc/dengmz मा गएर आफ्नो विवरण भर्न सक्छन् ।   

‘कोरोना भाइरसका कारण विदेशमा रहेका नेपाली विद्यार्थीहरुलाई खान, बस्न तथा कुनैपनि स्वास्थ्य समस्या आइपरेको छ भने इक्यानले तयार पारेको अनलाइन फर्म भर्न सक्छन्, हामी त्यहाँ रहेका विद्यार्थीले भोगेका कुनैपनि समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य र समन्वय गर्दछौं ।’ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भने ।   

विद्यार्थीले ‘इक्यान कोभिड–१९ इमरजेन्सी रजिष्ट्रेसन फर्म’ मा गएर ब्यक्तिगत विवरण, पासपोर्ट नम्बर, पढेको विषय, सेमेस्टर, कलेज÷युनिभर्सिटी, नेपालमा अभिभावकको नाम र सम्पर्क उल्लेख गर्नुपर्दछ । यसका साथै विद्यार्थीले आफु नेपालबाट कुन कन्सल्टेन्सी मार्फत गएको हो, त्यसको नाम, ठेगाना र विदेशमा आफुले भोगेको समस्या उल्लेख गरी सब्मिट गर्नुपर्छ ।   

‘त्यसपछि इक्यानले विद्यार्थीले भरेका अनलाईन फर्मलाई देश अनुसार विभाजन गरेर नेपाल सरकार, विदेशस्थित दुतावास, उक्त देशमा रहेका नेपाली समुदायका संघ–संस्थाहरुसँग सहयोग गर्न आग्रह गर्दछौं ।’ इक्यान अध्यक्ष पाण्डेले भने ।   

इक्यानले विदेशमा रहेका विद्यार्थीलाई कुनैपनि प्रकारको समस्या भएको खण्डमा त्यसको समाधान गर्न नेपालमा रहेका गार्जेनसँग र सरकारी तवरमा समेत सहयोगको लागि समन्वय गर्नेछ ।  कोरोना भाइरस संक्रमणका कारण विभिन्न देशमा जिवनयापनमा समस्या परेका विद्यार्थीका समस्या समाधानका लागि नेपाल सरकार शिक्षा मन्त्रालय, सम्बन्धित देशका दूतावास, एनआरएनए, नेपाल स्थित परामर्श संघहरु, सम्बन्धित देशमा रहेका परामर्श संघ, कन्सलटेन्सी र संघ संस्थासँग इक्यानले सहकार्य गरी सहयोग गर्नेछ ।   

इक्यानले विदेशमा रहेका विद्यार्थीमा परेको समस्या समाधानमा के गर्न सकिन्छ भन्ने विषयमा शिक्षा मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको छ । इक्यानले विदेशमा रहेका विद्यार्थीलाई आवश्यक परेमा नेपालबाट अभिभावकले कसरी पैसा पठाउने र कतिसम्म पठाउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरिरहेको छ ।   

‘अस्ट्रेलियामा नेपाली विद्यार्थी खानै नपाएर बस्नुपर्ने अवस्था छैन’ 

प्रकाश पाण्डे, अध्यक्ष, इक्यान 

‘नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था गरेकोमा त्यसलाई कोरोना महामारीको अन्त्य नभईन्जेल प्रति महिना १००० अमेरिकी डलर सम्म पठाउन सक्ने बनाउन मन्त्रालयलाई अनुरोध गरिरहेका छौं ।’ अध्यक्ष पाण्डेले मकालु खबरसँग भने ।   

उनले प्रायः उच्च शिक्षाकालागि विदेश गएका विद्यार्थीहरु उच्च र मध्यमस्तरको हुने भएकोले त्यहाँ उनीहरु खानै नपाएर बस्नुपर्ने अवस्थामा नरहने समेत बताए । ‘अस्ट्रेलियाकै कुरा गर्दा त्यहाँ १५ दिन मात्र भयो लकडाउन भएको, खानै नपाएर कुनै नेपाली विद्यार्थी विचल्लीमा पर्ने अवस्था छैन ।’ उनले भने–‘भर्खरै गएका जोसँग काम छैन उनीहरुलाई एनआरएनले मार्च २३ देखि १ महिना सम्म खाना खुवाइरहेको छ । अन्य संस्थाहरुले पनि सहयोग जुटाइरहेका छन् ।’   

अध्यक्ष पाण्डेले केही दिनअघि अस्ट्रेलियन प्रधानमन्त्रीले विदेशी विद्यार्थीका हकमा बोलेको अभिब्यक्तिलाई कतिपयले गलत अर्थले बुझेको बताउँदै अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई घर फर्कन नभनेको स्पष्ट पारे । ‘यहाँ हाम्रो बुझाइमा गलत छ । जो पहिलो पटक अस्ट्रेलिया आइरहेका छन् उनीहरुले पहिलो वर्षको खर्च ब्यवस्थापन गरेर आएका हुन्छन् । एक वर्षभन्दा बढि भएका विद्यार्थीले पार्टटाइम काम गरेर नेपालको जस्तै एक प्रकारको सञ्चयकोषमा बचत गरेका छन् भने अहिलेको अवस्थामा त्यो बचत प्रयोग गर्न दिने भनिएको छ । एक वर्ष नपुगेको विद्यार्थीलाई भने बस्न गाह्रो छ भने जानसक्छौ भनेको मात्र हो । सहज भएपनि उनीहरु पुनः अस्ट्रेलिया फर्कन पनि सक्छन् ।’ उनले अस्ट्रेलिया भएका विद्यार्थीका अभिभावकले आफ्नो लगानी डुब्यो, विद्यार्थी विचल्लीमा परे भनेर चिन्ता गर्नुपर्ने अवस्थै नरहेको प्रष्ट पारे ।  

कोरोना भाइरसका कारण हाल विश्वका एक तिहाइ मानिसहरु लकडाउनमा छन् । हाल सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनरत छन् भने भारत, जापान, अमेरिका, न्यूजिल्याण्डसँगै युरोपका धेरै देशमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै इक्यानले यस विषम परिस्थितिमा कोरोना भाइरसको महामारीले आक्रान्त पारेको सबैलाई धैर्य धारण गर्दै संक्रमणबाट जोगिन र सचेत हुन अपिल गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *