भरतपुरमा १५ हजार बढी घरपरिवारलाई ७० लाख बराबरको राहत बाँडिँदै
चैत २५, चितवन, । जिल्लाको भरतपुर महानगरपालिकाले १५ हजार ६ सय २५ घरधुरीमा राहत बाँड्ने योजना बनाएको छ । महानगरमा २९ वडा छन् । वडा तहबाटै आवश्यक सामाग्री खरिद गर्दै वितरण गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगर क्षेत्रमा करिब ७० लाख रुपैयाँ बराबरको राहत बाँडिने बताए ।
‘जग्गा नभएका, अधियाँ समेत नकमाएका, ज्यालादारी काम गर्ने, आयस्रोत केही नभएका अति विपन्न परिवारलाई मात्रै राहतमा समेटेका छौँ’, उनले भने, ‘टोलबाटै छानबिन भएपछि मात्रै राहत दिने काम भएको छ ।’
उनले खाद्यान्नकै अभावमा बिचल्लीमा परेका परिवारले वडामा सम्पर्क गरी राहत लिन पाउने बताए ।
महानगरकी सूचना अधिकारी मेनका पण्डितले मङ्गलवार दिउँसोसम्म ९ हजार १ सय ८७ परिवारलाई राहत बाँडिएको बताइन् । उनका अनुसार १३ वडाहरूमा राहत वितरणको काम सकिएको छ भने १० वडाहरूमा सूचिकृत अधिकांश घरमा राहत बाँडिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि गरिब तथा विपन्न परिवारलाई खाना खर्च जुटाउन समस्या पर्न थालेको छ ।
महानगरले चामल, दाल, तेल, साबुन, भुजा लगायतका सामग्री वडा तहबाट वितरणको काम अघि बढाएको छ ।