राहत नपाएपछि कटहरीमा स्थानीय आन्दोलित

चैत्र २९, विराटनगर। कटहरी गाउँपालिका-२ का स्थानीयवासी जनता आन्दोलित बनेका छन्। वडाध्यक्ष किश्वोर पाण्डेले राहत वितरणमा लापरबाही गरेको आरोपसहित शनिवार स्थानीय आन्दोलित बेनेका हुन्।
चैत्र २७ गते राहत लिन बाँकी रहेकाहरूको नामावली टिपाइएको थियो। तर वडाध्यक्ष किश्वोर पाण्डेले बेवास्ता गरेको स्थानीयवासी कृष्ण प्रसाद राजवंशीले बताए। राहतको विषयमा छलफल गर्न समय माग्दा पनि अध्यक्ष पाण्डेले मिटिङ छ भन्दै टालटुल गरेको र स्थानीय जनताको मर्म नबुझेको राजवंशीको आरोप छ।
सरकारले लकडाउनको घोषणा गरेपछि स्थानीय एक युवकको घरमा चुलो बल्न सकेको छैन। नाम खुलाउन नचाहेका ती युवा स्वास्थ्य चौकीमा करारमा काम गर्छन्। घरमा खाद्यान्नको अभाव हुन थालेपछि उनकी आमा राहत माग्न जादाँ वडाध्यक्षले तिम्रो छोराको जागिर खाइदिने धम्की दिएको राजवंशीले बताए।

सोही ठाउँका ५१ वर्षीया झुमा मेहेतर एक क्लिनिकमा काम गर्छिन्। लकडाउनसँगै उनको जागिरमा पनि लक लागेको छ। घरको सारा खर्च उनले बेहोर्छिन्। लामो समय देखिको ‘लकडाउन’ले आफ्नो घरमा दैनिकी चलाउन कठिन हुन थालेको उनी बताउँछिन्। ‘सबैले हुने खानेले राहत त बुझिसके। तर हामी राहतको पर्खाइमा छौं। यतिका दिन भइसके राहत पाएका छैनौं। अब त के खाने भन्ने चिन्ताले सताउन थालेको छ,’ उनले गुनासो पोखिन्।
कटहरी-२ कै अर्की ५० वर्षीया द्रोहपति राजवंशी पनि राहतको पर्खाइमा छन्। उनको चार जनाको परिवार छ। श्रीमान् मसला उद्योगमा काम गर्छन्। लकडाउन पछि श्रीमानको कमाई छैन। यस्तो अवस्थामा घर खर्च कसरी चलाउने भन्ने चिन्ता रहेको उनले सुनाइन्। उनले भनिन्, ‘वडाबाट राहत दिने भनेको चाहिँ सुनेको हो। अहिलेसम्म राहत पाएका छैनौं।’
कटहरी वडा नम्बर २ का वडाध्यक्ष किश्वोर पाण्डेका अनुसार यस क्षेत्रका ९ सय ९२ घरधुरीलाई राहत वितरण गरिएको छ। जनताले आफ्नो खुसीले ५६ घरधुरीको नामावली टिपेर ल्याएर घर घेराउ गरे पश्चात् वडा कार्यालयमा मिटिङ बसेर उनीहरुले भने अनुसार राहत वितरण गरिएको समेत उनले सुनाए। उनले भने, ‘हामीले आज सम्म गलत मान्छेलाई राहत वितरण गरेका छैनौं। जनप्रतिनिधिलाई अप्ठ्यारो स्थितिमा पार्ने काम भइरहेको छ।’








