झापामा रगतको चरम अभाव

चैत्र २०, झापा । सरकारले (कोभिड १९) कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि झापामा रगतको चरम अभाव भएको छ । रगत अभाव हुन थालेपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आम मानिसलाई आह्वान गरेको छ । 

लकडाउन गरेपछि जिल्ला भित्र रक्तदान समेत ठप्प भएको छ । रक्तदान नहुदाँ झापामा केहिदिन यता रगतको केहिमात्रामा अभाव देखिएको र त्यसका लागि जिल्लावासी सर्वसाधारणहरुलाई स्वेच्छिक रगतदान गर्न आग्रह गरिआएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए ।  

लकडाउन अवधिभरि रक्तदान भएका छैनन्, रगतदान नहुदाँ जिल्ला भित्र रगतको अभाव देखिने अवस्थामा पुगिएकाले तत्काल रक्तदान अभियान सञ्चालन गर्न आव्हान गरिएको सभापति ढकालले बताए । सरकारले अस्पतालहरुको ओपीडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ । 

पोखरामा रगत अभाव

‘आइसीयुका एकै जना विरामीका लागि चार पिन्टसम्म रगत मागिरहेका छन्,’ विर्तामोड रेडक्रस सोसाइटी उपशाखाका सभापति सजेश शिवाकोटी भने–‘यहाँको ब्लडबैंकमा मागे जति रगतको स्टक नभएको हुँदा उनीहरुलाई रक्तदान गर्ने आफन्त खोज्न आग्रह गरिरहेका छौं ।’ 

विर्तामोड ब्लड बैङ्कबाट बीएन्डसी हस्पिटल, विर्तासिटी हस्पिटल, कनकाई हस्प्टिल, कञ्चजनंघा हस्प्टिल, सञ्जीवनी हस्पिटल, मनमोहन सामुदायिक हस्पिटल लगायत ठूला अस्पतालमा रगतको आपूर्ति हुँदै आएको छ । 

विर्तामोड ब्लड बैंकमा बिहीबार बिहानसम्ममा जम्मा १२ पिन्ट मात्र रगत स्टकमा रहेको विर्तामोड उपशाखाका सभापति शिवोकोटीले बताए । रेडक्रस सोसाइटीले विर्तामोडको बीएन्डसी हस्पिटल परिसरमा सञ्चालन गरेको ब्लड बैंकमा पनि रगतको स्टक सकिएको छ। 

‘सुत्केरी र शल्यक्रियाका विरामीका लागि रगतको माग भइरहेको छ, हामीले दिनसक्ने अवस्था रहेन,’ प्राविधिक रेश्मा तामाङ भन्छिन् –‘बीएन्डसी हस्पिटलमा रहेको ब्लडबैंकमा १५ युनिट मात्र स्टक छ, यति रगत एक दिनलाई पनि पुग्दैन ।’ 

भद्रपुरमा रेडक्रसले सञ्चालन गरेको ब्लड बैंकमा पनि रगतको अभाव भइसकेको छ । घरदैलो अभियान चलाएर रक्तदाता खोज्नुपर्ने बेला भइसकेको सोही ब्लड बैंकका प्राविधिक दिपक ओली बताउँछन् । ब्लड बैंकका कर्मचारीले विरामीका परिवारलाई रक्तदाताको सूची हेरेर रक्तदानका लािग अनुरोध गरिरहेका छन् । 

झापामा मिगौलाको नियमित डायलासिस गराइरहेका ८० जना बिरामी छन् । रगत कम हुने एनिमियाका बिरामीको सङ्ख्या ७३ जनाभन्दा बढी छ । नियमित रगत उपलब्ध नगराए उनीहरुको जीवन जोखिममा पर्नसक्ने बताउँदै आफुले पनि भद्रपुरको ब्लड बैंकमै गएर रक्तदान गरेको प्रदेश सांसद बसन्त बानियाँले बताए । उनले भीडभाड नगरी नजिकको ब्लड बैंकमा गएर स्वेच्छिक रक्तदान गर्न जनसमुदायमा आह्वान गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *