आत्मनिर्भर उन्मुख व्यवसायलाई नियाल्दा : अर्बौँको लगानी डुव्दै

वैशाख १, काठमाडौं । उत्पादनको हिसावले होस वा राजनितिक हिसावले चितवन जिल्लालाई अग्रणी जिल्लाको रुपमा लिईन्छ । यस जिल्लाले प्राय सवै क्षेत्रको नेतृत्व पनि गर्दै आएको छ । विशेषत उत्पादनका क्षेत्रहरु धान देखी पोल्ट्री, माछा, केरा, मौरी, दुग्धमा चितवन अव्वल मानिन्छ । पर्यटन पनि यहाँको मुख्य आम्दानीको श्रोत हो । उसो त चितवनलाई पोल्ट्रीको राजधानीको रुपमा समेत लिने गरिएको छ । यि सवै क्षेत्र विस्तारै आत्मनिर्भर हुदै गएका छन् । केही आश लाग्दो अवस्था सृजना भईरहेका वेला विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको सक्रमणका कारण चितवनको ति सवै क्षेत्रलाई उथलपुथल वनाई दिएको छ । अर्वौको लगानी डुव्ने स्थिति पनि देखिएको छ । कोरोना पछिको लकडाउन अझ केही समय लम्विनले संकेत पनि छ । जसका कारण यहाँका यि सवै क्षेत्र उठ्नै नसक्ने गरि थला पर्ने प्राय निश्चित छ ।
पोल्ट्रीमा दैनिक २२ करोड नोक्सान
कोरोनाका कारण अहिले सवैभन्दा संकटमा पोल्ट्री क्षेत्र छ । कोरोनाकै कारण दैनिक २२ करोड रुपैया यस क्षेत्रमा नोक्सान भईरहेको छ । नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख, ब्रोइलर तयारी कुखुरामा १५ करोड, अण्डामा ३ करोड र पोल्ट्रीका लागि चाहिने दाना र कच्चा पदार्थमा ५० लाख गरी दैनिक २१ करोड ९५ लाखको नोक्सानी भईरहेको व्यवसायीहरु वताउँछन् ।

कोरोना पछिको लकडाउन कहिले सम्म हो भन्ने चिन्ताले पिरोलेका व्यवसायीहरु त्रसित छन् । पलाउन हुने अवस्था सृजना हुने ह्याचरी उद्योग संघ वागमती प्रदेश अध्यक्ष ज्ञानवहादुर विसुराल वताउँछन् । पोल्ट्रीमा नाफा नोक्सान भईरहन्छ तर यस्तो अवस्था अहिले सम्म थिएन्,लगानी डुव्ने खतरा छ प्रदेश अध्यक्ष विसुरालले भने – सरकारले तत्काल यो क्षेत्र जोगाउन क्रियाशिलता देखाउनु पर्छ ।
दुध किसानलाई कालोवजारी समस्या
जिल्लाको दोश्रो आत्मनिभर वन्दै गरेको क्षेत्र दुध पनि हो । जिल्लामा उत्पादन भएको दुध खपत भएर वाहिर जिल्ला समेत लैजाने गरेको छ । आशातित यस क्षेत्रलाई पनि २०७६ को अन्त्य तिर अभिसाप वन्न पुग्यो । लकडाउनका कारण कतिले त बाटोमै दुध फ्याँकेका समाचार पनि आए ।
दुध संकलन र विक्रीमा लकडाउनको सुरुवात भन्दा अहिले केही सहज भएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेको भनाई छ । तर ढुक्क हुने अवस्था भने नरहेको उनले बताए । यहाँ उत्पादन हुने गरेको दैनिक ३ लाख लिटर दुधको ५० प्रतिशत मात्रै विक्री भईरहेको छ । किसानलाई दुध विक्री नभएको भन्दा पनि कालोवजारीको समस्या रहेको संंघका सचिव वगालेले वताए । लकडाउन पछि चोकर र दानाको मुल्य अप्रत्याशित रुपमा वृद्धी गरेर विक्री भईरहेको छ । वगालेका अनुसार ४० किलोको चोकर अहिले १ हजार ९ सय रुपैया सम्म विक्री भएको छ । यस तर्फ प्रशासनले ध्यान नदिन किसान घाटा खाएर दुध वेचिरहनु पर्ने उनको भनाई छ ।
माछा किसानलाई आहारको टेन्सन
जिल्लाको अर्को आत्मनिर्भर उन्मुख क्षेत्र माछापालन व्यवसाय हो । माछाको भुरा पोखरीमा हाल्ने समय भएको छ तर भुरा पाईएको छैन् । सरकारी फर्मबाट समेत भुरा उत्पादन ठप्प जस्तै छ । भुराको समस्या खेपेका किसानलाई आहाराको पनि टेन्सनले सताउन थालेको माछा उत्पादक संघ चितवनका निवर्तमान अध्यक्ष रमेश पाण्डेले वताए । कलकारखाना वन्द हुँदा र वाहिरबाट कच्चा पदार्थ नआउँदा आहारको समस्या देखिन थालेको छ ।
जिल्लाको रत्ननगरमा माछाको दाना उत्पादन गर्ने कारखाना छ तर थोरै मात्रामा मात्रै कच्चा पदार्थ छ । जिल्लाको खैरहनी,रत्ननगर र माडी माछाको पकेट क्षेत्र हो । जिल्लामा २ हजार ३ सय जना व्यवसायिक माछापालन किसान छन् । यहाँ मासिक ८ सय टन सम्म माछा उत्पादन हुदै आएको छ । यहाँको माछा सिमित मात्र वाहिर जिल्ला जाने गरेको छ नत्र यही खपत हुन्छ । लकडाउन पछि २ टन माछा वाहिर जिल्ला गएको संघका निवर्तमान अध्यक्ष पाण्डेले वताए । अन्य क्षेत्रको जस्तो यस व्यवसायमा सलग्न किसान तत्काल डुविहाल्ने स्थिति नरहेको वताईएको छ ।
केरा वोटमै पाक्न थाल्यो
जिल्लाको आत्मनिर्भरको अर्को व्यवसाय केरा खेती पनि हो । लकडाउनका कारण यहाँ उत्पादन भएका केरा विक्री ठप्प जस्तै छ । विक्री नहुँदा केरा वोटमै पाक्न थालेका छन् । अवको दुई हप्तामा धेरै केरा तयारी हुने भएकाले लकडाउन लम्विए ठुलो नोक्सानी व्यहोनुए पर्ने चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतो वताउँछन् ।
यहाँ उत्पादन भएको केराको वजार काठमाडौ,वुटवल,पोखरा लगायतका शहर हुन् । अहिले मुलुकनै ठप्प भएकाले आगामी दुई सातामा धेरै किसानको लगानी डुव्ने संघका अध्यक्ष महतोले वताए । चितवनमा ७ सय भन्दा वढि किसानले २ हजार भन्दा वढि हेक्टरमा केराखेती गर्दै आएका छन् । जिल्लाको रत्ननगर,कालिका,खैरहनी,भरतपुरको ठिमुरा र जगतपुर क्षेत्र केराको पकेट क्षेत्र हो ।








