‘नेपालमा एक हजार व्यक्ति कोरोना संक्रमित भएपनि मृतकको संख्या २० मात्र हुनेछ’

डा. रवीन्द्र पाण्डे 

चैत्र २३, काठमाडौं । चीनले हिजो सय जनाभन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमण बिरुद्धको खोप लगाएको छ । उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ  ।  

अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ । सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउँदैछन् ।  

कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि विभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेका छन् । 

यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरुले कोरोना संक्रमणमा उत्साहप्रद रुपमा काम गरिरहेका छन् । यी औषधिबाट लाखौँ व्यक्तिले जीवन पाइरहेका छन् । 

मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा ब्यापक प्रयोग गरिएको छ । यी औषधिको सफलता सोंचेभन्दा राम्रो आएको छ ।  

सेकेण्डरी इन्फेक्सन रोक्नको लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभावकारी काम गरिरहेका छन् । 

बेलायती राजकुमार चार्ल्स ७१ बर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ । यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन । साथै आयुर्बेद, होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ । 

बीबीसीका अनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ बर्षिय पुरुष र उनको ८८ बर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन् । 

यता भारतले कोरोना संक्रमण २ घन्टामा पत्ता लगाउने किटको आविष्कार गरेर ब्यापक जाँच गर्दैछ । त्यो किट सस्तो एवम् भरपर्दो मानिएको छ । यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो । 

नेपालमा विभिन्न अस्पतालमा आइसीयु, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परिक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ । साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ । कारणवश रोग फैलिएमा चीन, भारत लगायतका देशहरु सहयोग गर्न तम्तयार भएका छन् । 

कोरोना संक्रमणबाट बालबालिका तथा युवावर्ग सुरक्षित भएको हुँदा बच्चाको लागि आमाबुवाहरुले डर मान्नुपर्दैन । 

हामी नेपालीले बिसिजीको खोप लगाएका छौँ । समयसमयमा जुकाको औषधि, हात्तीपाइले रोगको औषधि खाएका छौँ । तसर्थ जोखिम न्यून छ ।  

नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ । त्यो मृत्यु पनि अन्य विभिन्न रोगको कारण मृत्यु उन्मुख व्यक्तिको मात्र हुनेछ । स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन । 

नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन । विकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ । मृत्युदर अत्यन्तै न्यून छ । 

आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ । इटली लगायतका देशको जुन भयावह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयावह छैन । 

जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो । मृत्यु धेरैको भएको छ तर कस्तो जनसंख्याको मृत्यु भएको छ भन्ने बुझ्नु जरुरी छ । 

त्यसैले हल्लाको पछि लागेर आत्तिने नगरौं । आत्तिएर निको हुने होइन । सतर्कताले रोकथाम गर्छ । तसर्थ सतर्क बनौँ । अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशाबादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो ।  

(लेखक डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ हुन्) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *