नेकपाले बोलायो सचिवालय बैठक


चैत्र २४, काठमाडौं। कोरोना भारइस संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बोलाइएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्।
नेकपाका महासचिव विष्णु पौडेलले मगंलबार केन्द्रीय सचिवालय बैठक बोलाएको जानकारी सचिवालय सदस्यहरुलाई गराएका छन्। सरकारले संकटका बेला एकलौटीरुपमा गम्भीर निर्णयहरु लिन थालेपछि शीर्ष नेताहरुले केन्द्रीय सचिवालय बैठक डाक्न दबाब दिँदै आएका थिए।
विशेष गरी चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमा विवाद देखिएको छ। मेडिकल सामग्री खरीदका बेला सरकार भ्रष्टाचार मुछिएको प्रकरण, नेपाली सेनलााई त्यस्ता सामग्री खरीदको जिम्मा दिने सरकारी निर्णय र श्रमजीवी वर्गहरुका लागि उचित राहत प्याकेज घोषणा नगरेकोलगायत विषयमा सरकारसँग स्पष्टीकरण माग गर्ने योजना रहेको एक सचिवालय सदस्यले बताए।
पछिल्लोपटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन्। पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरुले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए।
