अमेरिकामा स्थिति झन् भयावह, एकैदिन १९ सय बढीले ज्यान गुमाए

चैत २६, काठमाडौं । पछिल्लो समय कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा स्थिति झनै भयावह हुँदै गएको छ । मंगलबार मात्रै त्यहाँ थप १ हजार ९ सय बढीको मृत्यु भएको छ ।
जोन हप्कीन्स विश्व विद्यालयको तथ्यांक अनुसार अमेरिकामा एकैदिन १ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाका कारण एकैदिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो । त्यहाँ ३३ हजार भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय २३ पुगेको छ भने संक्रमितको संख्या चार लाख ३ सय २३ पुगेको छ । अमेरिकको न्यूयोर्कमा मात्रै एकै दिन पाँच सय भन्दा बढीको ज्यान गएको छ ।

विश्वभर कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार २६ पुगेको छ भने १४ लाख ३० हजार ९ सय ८१ जनामा संक्रमण भएको पुष्टि भएको छ।
संक्रमितमध्ये ३ लाख १ हजार ८ सय २८ जना उपचारपछि निको भई घर फर्केका छन् । हालः विश्वमा १० लाख ४२ हजार ७ सय ८६ जना कोरोना भाइरसका संक्रमित उपचारत छन् । उपचारतमध्ये ४७ हजार ९ सय १२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ भने ९ लाख ९४ हजार ८ सय ७४ जनाको अवस्था सामान्य छ ।
कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो । त्यसयता यो भाईरस विश्वका २ सय ९ देश तथा क्षेत्रमा फैलिएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, चीन, इरान, बेलायत, टर्की, स्वीट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स, क्यानडा र ब्राजिल रहेका छन् ।
इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३५ हजार ५ सय ८६ पुगेको छ । यी मध्ये १७ हजार १ सय २७ को मृत्यु भएको छ । फ्रान्सम हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९ हजार ६९ रहेको छ, जसमध्ये १० हजार ३ सय २८ जनाले ज्यान गुमाइसकेका छन् ।








