लकडाउनपछिको प्रयासः बाँझो जग्गामा खेती सुरु

चितवन । चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिन जोतेर सामूहिक खेती सुरु गरेको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाँझो जमिन जोतेर सामूहिक खेती सुरु गरिएको हो ।

रत्ननगर नगरपालिका वडा नं १४ पिठुवामा विगत एक दशकदेखि बाँझो रहेको करिब ३० विगहा जमिन जोतेर खेती गर्न सुरु गरिएको वडाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । जग्गा व्यवसायीले प्लटिङ गरेको, व्यक्तिको नाममा रहेको र लामो समयसम्म खेती नगरेको तथा सार्वजनिक जग्गामा खेती गर्न सुरु गरिएको उनले बताए ।

सामूहिक खेतीका लागि विपन्न वर्गको समूह बनाएर जग्गा बाँडबाँड गरिएको छ । ५ देखि ७ सात जनाको समूह बनाएर निश्चित समयसम्मका लागि खती गर्न जग्गा प्रदान गरिएको छ । सामूहिक खेती गर्न सो वडाभित्रका करिब ३०० परिवार राजी भएका छन् । ५० वटा समूह बनाइएको छ । नगरपालिकाले बाँझो जग्गाका धनीहरुसँग खेती गर्नका लागि अनुमति लिएको छ ।

‘करिब ३० विगाह बाँझो जमिन जोतियो’, वडाध्यक्ष श्रेष्ठले भने, ‘खेतमा मल हाल्ने काम सुरु भएको छ, केही दिनपछि खेती लगाउन सुरु हुन्छ ।’ नगरपालिकाले बाँझो जमिन जोत्नको लागि तेल खर्च, मकै र बोडीको बीउ उपलब्ध गराएको छ ।

मलिलो माटो भएको ठाउँमा कमै र बोडी लगाउने र केही सुख्खा क्षेत्रमा तिल लगाउन प्रेरित गरिने वडाध्यक्ष श्रेष्ठले बताए । नगरपालिकाले प्रदान गरेको बाँझो जग्गामा लक्षित वर्गले मौसमअनुसार खेती गर्न पाउने छन् ।

खेती गर्न निःशुल्क जग्गा, बीउ र जोत्न तेल खर्चसमेत स्थानीय सरकारले उपलब्ध गराएपछि वडाभित्रका विपन्न वर्ग उत्साहित भएका छन् ।

रत्ननगरका मेयर नारायण वनले लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा लगाउने योजनासहित सामुहिक खेती सुरु गरिएको बताए । उनले नगरपालिकाभित्र रहेका अन्य बाँझो जग्गाको पहिचान गरी स्थानीयलाई खेती गर्न लगाउने बताए ।

सो नगरपालिकाले बाँझो जग्गा राख्नेलाई जरिवाना गर्दै आएको छ । लकडाउनका कारण सिर्जित परिस्थितिका कारण वडाभित्रका सार्वजनिक र प्लटिङ गरिएको जग्गा जोतेर आर्थिक अवस्था कमजोर रहेका समुदायलाई खेती गर्न दिने नीति लिएको मेयर वनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *