अनुगमनमा कडाइ गर्दै धरान उपमहानगरपालिका, ठगी गर्ने व्यापारीकाे २ सय केजी तरकारी जफत

भरतराज शर्मा (गोपाल)– सुनसरी । सरकारले लकडाउन गरेको अवस्थामा केही व्यक्तिहरुले अत्यावश्यक कामका लागि प्रयोग गरिने पासको दुरुपयोग गरेका छन् ।

कतिले त पास नै नबनाइ कालोबाजारी गरेको पाइएको छ । कालोबजारीको पछिल्लो उदाहरण हो जिल्लाको धरानमा तोकिएको मूल्यभन्दा बढीमा तरकारी बिक्री गरेको भेटिनु । मूल्य सूचिभन्दा दोब्बरमा बिक्री गरेको पाइएपछि धरान–१६ बाट करिब २ सय केजी सब्जी जफत गरिएको छ ।

धरान उपमहानगरपालिका स्तरीय तरकारी व्यवस्थापनका लागि बनेको अनुगमन समितिले आज सोमबार बिहान धरान–१६ भीमसेन मार्गका सन्तोष साहको पसलबाट करिब २ सय केजी सब्जी जफत गरेको धरान उपमहानगरका अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए ।

त्यस्तै टेम्पोमा डुलाएर बिक्री गरिरहेको खरबुजा समेत जफत गरिएको छ । साहले खाद्यान्न पसलमा लुकिछिपी रूपमा सब्जी बिक्री गरिरहेको पाइएको र त्यसमा पनि दोब्बर मूल्यमा बिक्री गरेको पाइएपछि जफत गरिएको अनुगमनमा खटिएका अनुगमन समितिका सह संयोजक तथा वडा नं १३ का वडा अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार शाहले खाद्यान्नको लागि मात्रै अनुमति लिएको र उनले लुकिछिपी सब्जी पनि बेच्दै गरेका कारण कारवाही गरिएको हो । ‘तोकिएको भन्दा बढी मूल्यमा सागसब्जीहरु बेच्ने गरेकोले एकातिर पासको समेत दुरुपयोग गरेको र अर्कोतर्फ सर्वसाधारणलाई समेत महंगी बढाई मारमा पारेको पाइएको छ । त्यसकारण सामान जफत गरेका हौँ ’, उनले भने ।

काफ्लेले दिएको जानकारी अनुसार शाहले २० रुपैयाँ प्रतिकेजी पाउने बन्दाकोपी ४० रुपैयाँ प्रतिकेजी सम्म बेचेको पाइएको थियो । त्यस्तै अधिकतम ४० रुपैयाँमा बेच्नुपर्ने फूलकोपी ८० रुपैयाँ प्रतिकेजी बिक्री गरेको र आलु र प्याज पनि कृषि उपज बजार स्थलको जारी गरेको मूल्य सूचिभन्दा बढीमा बिक्री गरेको पाइएपछि जफत गरिएको हो ।

जफत गरिएका सामग्रीहरू सबै धरान उपमहागरले राहत वितरणमा प्रयोग गर्ने भएको छ । त्यस्तै धरान–९ का लागि अनुमति प्राप्त गरेको को १ ह ६५०७ नम्बरको टेम्पोले धरान भरि डुलाएर खरबुजा बिक्री गरेको पाइएपछि धरानले त्यसलाई पनि नियन्त्रणमा लिइएको छ ।

सो ठेला व्यापारीले समेत अधिकतम ४० रुपैयाँ प्रतिकेजी बिक्री गर्नुपर्ने खरबुजा प्रतिकेजी ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो भने जफत गरेको खरबुजा पनि सभागृहमा पठाइएको छ ।

धरानमा नेत्र काफ्ले सह सम्योजक रहेको अनुगमन समितिले धरान–१३, धरान–१६ का साथै बिचिन्न वडाहरुमा अनुगमन गरिरहेको छ । धरान–१३ र धरान–१६ मा त्रुटिपूर्ण भेटिएका पसलहरूलाई पहिलो पटक चेतावनी दिएर छाडिएको छ भने अनुगमनमा धरान उपमहानगरका अनुगमन अधिकृत वेदप्रकाश सापकोटा, उपभोक्ता हित संरक्षण मञ्चका कृष्ण ताम्राकार, नगर प्रहरी लगायतका व्यक्तिहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *