छाउपडी प्रथाको अन्त्य गर्न मानसिकतामा परिवर्तन आवश्यक

भनिन्छ, शुक्रकीट र डिम्बको मिलन पश्चात् विभिन्न चरणहरू पारगरि नवजात शिशुको जन्म हुन्छ। यसरी नै परापूर्व काल देखी हालसम्म एउटा देखी अर्को गर्दै वंशको विस्तार हुँदै आइरहेको छ। सन्तानलाई जन्मदिन पुरुष एवं महिला दुवैको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ। अझ महिलाले नौ महिनासम्म गर्भमा आफ्नो सन्तानलाई हुर्काउने हुँदा पुरुषको भन्दा महिलाले बढी भूमिका निर्वाह गरेका हुन्छन्। तसर्थ स्त्रीलाई जननीको संज्ञा दिइएको छ।

जब एउटा बालिका हुर्कँदै दश-बाह्र वर्षको उमेरमा पुग्छिन्। उनको महिनावारी चक्र सुरु हुन्छ। उनले सन्तान उत्पादन गर्ने सौभाग्य प्राप्त गर्दछिन्। दार्चुलाकी रेश्माको (नाम परिवर्तन) जब १२ वर्ष पुगिन्, त्यसवेला उनको महिनावारी चक्र सुरु भयो। बालिकाको शुरुको महिनावारीमा यौन अगंबाट रातो तरल पदार्थ बाहिर निस्किदा उनी आत्तिन्छिन्। लौन के भयो, म त मर्ने पो हो की ? किन रगत आइरहेको छ ? पेट पनि बेस्सरी दुःखी रहेको छ ? भन्दै डराइन्। उनले यी सबै कुरा आफ्नो आमालाई सुनाइन्।

उनको कुरा सुनिसकेपछि आमाले तिमी छाउ भएको हो, अब तिमीले बुवा, दाजुभाइ कसैको मुख हेर्नु हुँदैन र कुनै सर-सामानलाई छुनुहुँदैन भनिन्। त्यसपछि उनले छोरी रेश्मालाई कसैले नदेखुन् भनि आफ्नो घर भन्दा अलि टाढा आफन्तको घरमा लगेर राखिन्। छाउ भएका बेला पालन गर्नुपर्ने आचरणहरू जस्तैः सर-सामान छुन नहुने, भान्सा, पानी, पँधेरो, देवीदेवताका स्थानमा जान नहुने, घरमा भएका वा अन्य सदस्यहरूलाई छुन नहुने कुराहरू रेश्मालाई सिकाइयो।

बिचरा त्यो कलिलो मस्तिष्कमा कसरी सरसफाइ गर्ने, के कस्ता पौष्टिक तत्त्वयुक्त खाना खाने, उचित आराम गर्ने भन्दा पनि आचरणका कुराहरू सिकाइन्छ। उनी छाउ भएको ४ दिन भएपछि नुहाइ धुवाइ गरेर, गाईको गहुँत छर्केर एवं खान दिएर मात्र उनलाई अरू व्यक्तिलाई छुन दिइन्छ। यसरी उनलाई जब १० दिन हुन्छ, तब मात्र आफ्नो घरमा ल्याइन्छ। समय बित्दै जान्छ, उनको महिनावारी चक्र नियमित रूपमा चलिरहन्छ। उनी कक्षा ८ मा अध्ययनरत छात्रा हुन।

छाउ भएको बेला उनी तीन दिनसम्म विद्यालयसमेत जाँदिनन् किनभने उनी हिँड्ने गोरेटो बाटोमा देवी देवताको स्थान पर्छ। र त्यो बाटो हिँडे देवी देवता रुष्ट भई अनिष्ट गर्छन् भन्ने मान्यता रहेको छ। यस्तो बेला उनलाई प्रश्न गर्न मन लाग्छ, मन्दिरमा पुजिने देवी कहिले छाउ हुँदिनन् होला र ? तर उनी त जहिले पुजिन्छिन्। त्यही छाउ हामी हुँदा यस्तो विभेद किन ? उनको मनमा यस्तै यस्तै विचार आइरहन्छन्। रेश्मा छाउ भएको बेला भने मेलापात गर्ने, घाँस दाउरा काट्ने, खेतबारीको काम गर्ने गर्दछिन्। उनले पानी पँधेरो वा अन्य सर सामाग्री छुन नपाउने हुँदा मागेर काम चलाउनु पर्छ।

रेश्मा त सुदूरपश्चिम प्रदेशको पहाडी समुदायको प्रतिनिधित्व गर्ने एउटा पात्र मात्र हुन। अझै पनि सुदूरपश्चिम एवं कर्णाली प्रदेशमा छाउपडी प्रथा व्याप्त रहेको छ। यस क्षेत्रका महिला एवं किशोरीहरूले छाउपडीले गर्दा विभिन्न समस्याहरू भोग्दै आएका छन्। विगतका दिनहरूमा छाउ भएको बेला छाउगोठमा बस्दा यसक्षेत्रका महिला एवं किशोरीहरूले बलात्कृत, निसास्सिएर एवं सर्पले टोकेर ज्यान गुमाइरहेका छन्। वर्षेनी यस्ता घटनाहरू सार्वजनिक हुन्छन्। दी हिमालयन टाइम्स (२४ मार्च २०१९) का अनुसार विगत १३ वर्षमा अछाम र दैलेख जिल्लामा मात्र १५ जना किशोरी एवं महिलाको छाउगोठमै मृत्यु भएको छ। त्यस्तै उचित खानपान, सरसफाइ एवं आराम गर्न नपाउँदा यस प्रदेशका किशोरी एवं महिलाहरू विभिन्न रोगबाट ग्रसित हुनुका साथै चौतर्फी विकासमा समेत बाधा पुगेको छ।

महिनावारी भएको बेला किशोरी एवं महिलाहरूले पानी, पँधेरो, भान्सा, मठ, मन्दिर एवं व्यक्तिहरूलाई छुँदा के देवी देवता रिसाउने नै गर्दछन् ? के सुदूरपश्चिमका देवी देवता अन्य क्षेत्रका भन्दा कठोर एवं रिसाहा किसिमका छन् ? गाईको दूध खाँदा वास्तवमै गाइले दूध दिन छोड्छ ? त्यस्तै गाईको गहुँत छर्केर मात्र शुद्ध भइन्छ ? महिनावारी भएको समयमा किशोरीहरूले उचित खानपिन, सरसफाइ, आराम नपाएमा उनीहरूको चौतर्फी विकास सम्भव छ ? यी प्रश्नहरूको कसैले वैज्ञानिक परीक्षण गरेका छन् की खाली विश्वास मात्र हो, प्रश्न सोध्न मन लाग्छ।

सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न समयावधिमा छाउपडी प्रथा हटाउन विभिन्न प्रयास गरेता पनि यसले पूर्ण सफलता हात पार्न सकेको छैन। सरकारले छाउपडी प्रथा मान्न बाध्य पार्ने जोहोकीलाई पनि ३ महिना कैद वा ३ हजारसम्म जरिवाना वा दुवै सजाय दिन सक्ने कानुनी व्यवस्था गरे पनि त्यसको कार्यान्वयन भने भएको पाइँदैन। हाल स्थानीय सरकार सँग सहकार्य गरी छाउगोठ भत्काउने, छाउ प्रथा माने विभिन्न सेवा सुविधाबाट वञ्चित गर्ने, छाउगोठमुक्त जिल्ला घोषणा गर्ने अभियान चलाएको छ। त्यो एकदमै सराहनीय कदम मान्नु पर्दछ। तर अझै पनि कतिपय मानिसहरूले छाउगोठ भत्काउने क्रममा विरोध जनाइरहेका छन्। जबसम्म मानिसहरूको मानसिकतामा सकारात्मक परिवर्तन आउँदैन वा मानिसमा भएका परम्परागत सोच, विचारहरू भत्किदैनन तबसम्म छाउ प्रथाको अन्त्य नहुने देखिन्छ। छाउपडी मान्ने तरिकामा परिवर्तन आउन सक्दछ तर पूर्ण रूपमा निर्मूल पार्न भने सकिँदैन।

तसर्थ यस क्षेत्रका मानिसहरूको मानसिकतामा परिवर्तन ल्याउन धर्मको रक्षकहरू जस्तै पुरोहित र धार्मिक कार्यमा अगुवाइ गर्ने व्यक्तिहरूद्वारा छाउपडी प्रथा हटाउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सके पक्कै पनि आम मानिसहरूको मानसिकतामा परिवर्तन ल्याउन सकिन्छ। किनभने सर्वसाधारण व्यक्तिहरूले उनीहरूलाई विश्वास गर्ने र उनीहरूले दिएको सुझाव मान्ने प्रबल सम्भावना रहन्छ। यदि यस्तो हुन सकेमा कुनै पनि चेलीले अकालमा ज्यान नगुमाई उनीहरूको चौतर्फी विकास भई स्वस्थ समाजको निर्माण हुन सक्थ्यो भन्ने कुरामा कुनै दुबिधा छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =