लकडाउनले कष्टकर बन्दै मजदुरकाे जीवन, सरकार यतापनि ध्यान दिने कि !

भरतराज शर्मा (गोपाल)–सुनसरी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि बढ्न थालेपछि सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको छ ।

लकडाउन भएको आज एक महिना बितिसक्दा सर्वसाधारणको दैनिकिमा दिनप्रतिदिन समस्या बढ्दै गएको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरु अझै बढी पीडित छन् ।

एक महिना जेनतेन धानेपनि अब भने लकडाउन कष्टकर बन्दै गएको उनीहरुले गुनासो पोखेका छन् । लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीले भानुचौकमा नियन्त्रणमा लिएका महिलाहरुले आफूहरुलाई लकडाउन कष्टकर बन्दै गएको बताए ।

साँझपख सब्जीको जोहो गर्न निस्केका उनीहरुलाई विभिन्न स्थानबाट प्रहरीले प्रक्राउ गरी भानुचौकमा एक घण्टा राखेको थियो । सो समयमा उनीहरुले दैनिक ज्यालादारीबाट कमाएको रकमले घर भाडा तिर्नुपर्ने, छोरा छोरीको पालनपोषण गर्नुपर्ने भन्दै लकडाउनको समयमा कमाइ नभएको र त्यसमा पनि महंंगीले खाद्यान्न लगायत अति आवश्यक सामाग्री खरिद गर्न नै कठिन भएको गुनासो समेत पोखे ।

धरान–७ की बसन्ती जिमीले लकडाउनका कारण मजदुरी गर्न नपाउँदा गुजारा चलाउनै गाह्रो भएको बताइन् । उनले श्रीमान् पनि बिरामी भएर घरमा बसेको, आफूले पनि मजदुरी गर्न नपाएको र वडाले दिएको राहत पनि सकिएका कारण कष्टकर जीवन बिताउनु परेको गुनासो पोखिन् ।

कमाई नहुनु एकातिर, अर्कातिर मौकाको फाइदा उठाएर कालोबजारी गर्नेहरुले जथाभावी बजार मूल्य तोक्दा समेत सरकार मौन बसेको भन्दै उनले आक्रोश पोखिन् ।

लकडाउनका कारण अहिले सबैलाई समस्या भएको छ भने बजारमा काला बजारीयाहरुले प्रश्रय पाएका छन् । अर्कोतर्फ मजदुरहरु बिच बाटोमै थुनिएर बस्नुपर्ने बाध्यता छ ।

एक महिनाअघि मात्र दार्जिलिङ घर भएकी रुपा राई काठमाडौं जान भनि धरान आएकी थिइन् । धरान आउनेबित्तिकै लकडाउन भएपछि आफन्तको घरमा बसेको एक महिना भएको उनले बताइन् ।

एक छोरीका साथ धरान आएकी उनले अहिले खर्च गर्ने पैसा सकिएर यता न उता हुन लागेको भन्दै सहयोग गरेर नपुर्याए ठूलो समस्या आउने बताइन् ।

यी दुई त प्रतिनिधि पात्र मात्र हुन्, अहिले यी र यस्ता वर्ग लकडाउनका कारण सबैभन्दा बढी मारमा परेका छन् । कमाई गर्ने बाटो बन्द भएको छ । त्यसमाथि पनि कालो बजारीले पश्रय पाएको छ, किनेर खान सक्ने अवस्था छैन । सरकारले बाँडेको थोरै राहतले जेनतेन चलेको छ ।

लकडाउनका बाबजुद पनि नेपालमा ४७ जना कोरोना संक्रमणका बिरामी भएको पुष्टि भइसकेको छ । कोरोनाको संंक्रमण बढ्दै जादा यी र यस्ता वर्गलाई अझे सास्ती हुन सक्छ, यसतर्फ सरकारले बेलैमा सोच्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =