उपकुलपति भन्छन्–‘पदीय दायित्व भन्दा बाहिर गएर काम नगरौं’

धरान । प्रदेशकै टर्सरी सेन्टरका रुपमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुमेको साख फिर्ता ल्याउनका लागि उपकुलपति भएर आएका प्रा.डा.ज्ञानेन्द्र गिरीले आफ्नो भूमिका अनुसार प्रतिष्ठानलाई सुधार्ने प्रयास थालेका छन् । अहिले प्रतिष्ठानलाई कोरोना भाइरस उपचारका लागि महत्वपूर्ण अस्पतालका रुपमा विकास गर्ने काम भइरहेको छ । जसको नेतृत्व उपकुलपति डा.गिरीकै आवागमन पछि भयो ।

प्रतिष्ठानलाई सरकारले कोरोना उपचार केन्द्र बनाएपनि सय वेडको आइसोलेसन अस्पताल बनाउने तयारी भइसकेको थिएन । डा.गिरीले शुरुमै अहिलेको कोरोना महामारीबाट बच्न र संक्रमितलाई उपचार गर्न विशेष काम गर्नुपर्छ भनेर त्यहि अनुरुप काम गर्न थालेपछि दु्रत गतीमा कोरोना अस्पताल बनाउने काम भएको हो । निर्माण कर्ताले वीपी प्रतिष्ठानको कोरोना अस्पताल यहि शुक्रबार प्रतिष्ठान ब्यवस्थापनलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

प्रतिष्ठानको स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउन पनि डा. गिरीले विशेष योजना बनाएका छन् । ‘अहिले प्रतिष्ठानको जनरल ओपिडीलाई अनलाइन सिष्टम बनाउने काम धमाधम भइरहेको छ । प्रतिष्ठानबाट प्राप्त हुने सबै प्रकारका सेवाहरु अब अनलाईन सिष्टममा जाँदैछन् ।’ डा. गिरीले मकालु खबरसँग भने ।

डा. ज्ञानेन्द्र गिरी, उपकूलपति, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

प्रतिष्ठानको विल काट्न, ल्याव रिपोर्टहरु लिन विभिन्न सेवाहरुको भुक्तानी गर्ने कार्यलाई मोवाइल एप मार्फत अनलाइन सिष्टममा डेभलप गर्ने काम भइरहेको छ । बैशाख १३ गतेदेखि यहाँबाट प्राप्त हुने सबै सेवाहरु अनलाइनबाट हुन्छ । ‘अब वीपी प्रतिष्ठानमा जुनसुकै प्रकारका उपचारका लागि आउने विरामीले सास्ती खेप्नु पर्दैन ।’ कोशी अञ्चल अस्पतालको ब्यवस्थापन संहालेको अनुभव भएका डा. गिरीले भने ।

प्रतिष्ठानले हाल बन्दको अवस्थामा रहेको फार्मेसीलाई पुनः सञ्चालनमा ल्याउनका लागि पनि काम गर्दैछ । प्रतिष्ठान आफैंले फार्मेसी सञ्चालन गर्ने भएपछि विरामीले सहुलियत दरमा औषधी खरिद गर्न पाउँछन् भने प्रतिष्ठानको आम्दानीको स्रोत पनि बृद्धि हुनेछ ।

प्रतिष्ठानको रेडियोलोजी विभाग अस्तब्यस्त छ । कतिपय उपकरणहरुले काम नगर्दा प्रतिष्ठानमा आउने विरामीले सास्ती खेप्नुपर्ने तथा सामान्य एक्सरे र भिडियो एक्सरे समेत गर्न प्रतिष्ठान बाहिरका निजी ल्यावहरुमा जानु पर्दथ्यो । डा. गिरीले रेडियोलोजी विभागलाई सुधार्न भनेका छन् । केही दिन यता रेडियोलोजीका धेरै उपकरणहरु बनिसकेका छन् । ‘अबको केहि दिनमा विरामीले भिडियो एक्सरे गर्न समय लिनुपर्ने भण्झट रहँदैन ।’ डा. गिरीको दावि छ ।

प्रतिष्ठानमा कार्यरत केही चिकित्सकहरुले बाहिर रहेका डायग्नोस्टिक सेन्टरसँग कमिसन लिएर विरामी रेफर गर्ने गर्दछन् । यस कार्यलाई तत्कालै रोक्न डा. गिरीले योजना बनाइरहेका छन् । प्रतिष्ठानमा रहेको सिटि स्क्यान सञ्चालन नहुँदा विरामीले अर्को सास्ती खेपिरहेकोमा अहिले सिटि स्क्यान मेसिन पनि बनिसकेको छ । प्रतिष्ठानले ६५ प्रतिशत कमिसन दिएर सिटी स्क्यान प्राइभेटलाई चलाउन दिएकोमा त्यसलाई अब आफैंले चलाउने भएको छ । ‘६५ प्रतिशत कमिसन दिने गरी सिटि स्क्यान प्राइभेटलाई दिइरहेको रहेछ । त्यसलाई अब हामी आफैंले चलाउँदैछौं । सम्पत्ति सरकारको छ, काम प्राइभेटले गर्दा रहेछन् यसलाई रोक्नुपर्छ ।’ उपकुलपति डा. गिरीले भने ।

उनले आफु प्रतिष्ठानको विकास र सुधारकै लागि आएको जिकिर गर्दै दवाव नदिई रचनात्मक सल्लाह सुझाव दिन आग्रह गरे । विगतमा के भयो कसो भयो कोट्याउने भन्दापनि अब प्रतिष्ठानको गरिमा कसरी उकास्ने भन्नेमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा डा. गिरीको जोड छ । ‘म राम्रो गर्नुपर्छ भन्ने मान्यता लिएर आएको हुँ, कसैले सकारात्मक सुझाव दिन्छन् भने त्यसलाई कार्यान्वयन गर्छु तर, पदीय मर्यादाभित्र नरही केटाकेटी पारामा मलाई निर्देशन दिने काम नगर्नुहोला । कसैलेपनि पदीय दायित्वभन्दा बाहिर गएर काम नगरौं ।’ डा. गिरीको भनाई छ ।

उनले प्रतिष्ठानमा निर्माणाधिन संरचनाहरुलाई पूर्णता दिन र रोकिएका आयोजनाहरु सूचारु गराउन आफुले पहल गरिरहेको पनि बताए । प्रतिष्ठानका महत्वकांक्षी योजनाहरु चार सय वेडको एमसिएच भवन लगायत अन्य योजनाहरु सूचारु गर्न डा. गिरीले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरीरहेका छन् ।

चैत्र अन्तिम साता उपकुलपति भएर आएका विराटनगरका डा. गिरीसँग लामो समय कोशी अञ्चल अस्पतालको मेडिकल सुपरिटेन्डेन भएको अनुभव मात्र छैन, भारतकै उत्कृष्ट विश्वविद्यालय एम्स र अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन अध्यापन गरेको अनुभव पनि छ ।

र, सबै भन्दा महत्वपूर्ण उनले विराटनगरमै स्थापना गरेको विराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज यतिबेला पूर्वका राम्रा अस्पतालहरुमा गनिएका छन् । तर, कुनै बेला दक्षिण एशियाकै उत्कृष्ठ स्वास्थ्य प्रतिष्ठानका रुपमा ख्याती कमाएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले गए गुज्रेको अवस्थामा छ । भ्रष्टाचार, कूशासन र अनियमितताको चंगुलमा फसेको प्रतिष्ठानलाई पुर्नजाग्रित गराउन डा.गिरीलाई सजिलो पक्कै छैन तर, असंभव पनि छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *