महिला दिवसः मैले लोग्ने छोडेको दिन !

आज ११० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस । हाम्रो पहिलो ‘विछोडभर्सरी’ पनि ! सम्झिएका छौ नि राजा ? हुन त तिमी अघि बढी सक्यौ रे । नयाँ दुलही पनि भित्र्यायौ रे होइन ?   

मैँले त बिर्सनै सकेकी छैन ‘पतिदेव’ तिमी अनि त्यो विछोड !   

ए ! तिमी भनेछु, रिसाएनौ नि ?   

चित्त नदुखाउनू है, जीवनसाथीलाई तिमी भन्ने रहर मेटाउँदैछु आज ।   

थाहा छ पतिदेव, म किन अलग्गिएँँ तिमीसँग ?   

झण्डैँ एक वर्षअघि नेपाल प्रज्ञा–प्रतिष्ठानको कृति विमोचन हलमा नारीकै प्रसंगमा नारीद्वारा लिखित एक कृति विमोचन हुँदै थियो ।  

त्यहाँ उपस्थित एक पुरुष अतिथीले आफ्नो विचार पस्कने क्रममा जुन शब्दहरु खर्चिए, त्यसले मनमा चेतनाको आगो बल्यो । 

क्या डायलग मारेका थिए…! 

उनका शब्दहरु कन्टस्थ त छैनन् तर भनाइको सार यो थियो…, 

‘समाजमा नारी मात्रै पुरुषबाट हेपिएका छैनन् । पुरुष पनि नारीबाट शोषित छन् । हामीले के बुझ्नुपर्यो भने नारीलाई हेपिएको होइन, उसको कमजोरीलाई हेपिएको हो । कमजोर मानिसलाई जसले पनि हेप्छ ! अघि बढ्नुस्, सक्षम हुनुस्, कसले हेप्न सक्छ ?’ 

पतिदेव ! त्यसै समय मैँले हाम्रो सम्बन्ध चिहाएँ, ती शब्दका पर्दाहरुबाट…,  

के तिमीले पनि मेरा कमजोरीलाई हेपिरहेका थियौ ?  

के–के थिए मेरा कमजोरी…? 

तिमी डिग्री होल्डर, म ब्याचलर पास । बैंकमा जागिरे तिमी, म घर कुरुवा । मेरा काम घाँस दाउरा, चुलो चौको र जुठेल्नो, तिम्रो मात्र जागिर, जागिर, जागिर । 

लाग्थ्यो नारी भएकै कारण तिमी मलाई हेपिरहेथ्यौ । तिम्रो शारीरिक भोक मेटाउन हर समय राजी हुनु मेरो कर्तव्य हो । घाँस, दाउरा, चुलोचौको जिन्दगी अनि तिम्रो लात सौभाग्य । 

तिमी कति चिप्किन्थ्यौ है, परस्त्रीसँग ? त्यो पल्लाघरे काइँलीसँग त रात समेत बिताए थ्यौ रे नि ? पेट बोकेकि‘थी अरे तिम्रो ! पैसा दिएर फाल्न लगाएका थियौ रे होइन ? रपनि थाहा नपाएझैँ गरिदिएकी थिएँ मैँले । 

मलाई संस्कारै यस्तै दिइयो, लोग्नेका इज्जतसँग नखेल्नु । लात सहनु, मुख नलाग्नू । श्रीमान् भनेका भगवान हुन् । उसले चाहेका बेला शारीरिक सुख दिनु, चाहै तिम्रा ज्यानमा विसन्चो नै किन नहोस् । 

हो पतिदेव, मलाई मेरी आमाले यस्तै सिकाएकी थिइन् । यसैकारण तिम्रा हरेक दमन सहँदै आएकी थिएँ । म त कसैसँग बोल्नै हुँदैन थियो, रातको बासै आँगनमा पारिदिन्थ्यौ हगि ! 

साँच्चै त्यो समय मेरी ‘सासु मा’ ले तिम्रो साथ नदिएकी भए ? मेरा दिमागमा समेत नखेलेका कुरा उनका मुखबाट ननिस्केका भए ? मेरा बारे झुटा कुरा नसुनाएकी भए ?  

सायद न तिमीले ममाथि लात बर्साउने थियौ, न हामी छुट्ने थियौँ ।  

त्यो परेवाको जस्तै जोडी हुन्थ्यो होला हगि ? दैवले समेत डाह गर्थे होलान् ! 

वास्तवमा तिमी त्यस्ता कदापी होइनौ, तिम्री आमाले त्यस्तो निर्मम बनाइन् । म पनि त्यस्ती कहाँ थिएँ र ? समाजले मलाई ‘बिचरी’ बनायो ! मेरै आमाले यसमा भूमिका खेलिन् । 

हुन त गल्ती तिम्रा पनि छन्, विवाहअघि आमाका कुरा नसुनी आफैँ निर्णय लिन सक्ने तिमी विवाहपछि एकाएक बद्लियौ । आमाका कुरा सुन्दा हौ त हामी एक कसरी हुन्थ्यौँ र ?  

तिम्री आमाले कहाँ चाहेकी थिइन् र म जस्ती बुहारी ? जो कि बढार्न जान्दिन आँगन । दुनियाँ केटासँग दोस्ती राख्छे । आफूलाई विचरी ठान्दिन । हिम्मतवाली छे । घाँस दाउरा नजान्ने, जागिरे छे ।  

मै उस्ती, बा ले दिएका अवसरलाई लत्याएर ठुला अपराध गरे जसरी तिमीसँग भागेर आएँ । आमाले सिकाएकी चुलाचौका याद गर्दै बाबाले दिएका आँट, हिम्मत बिर्सिएँ । तिमी र तिम्रा घर परिवार रिझाउन जागिरलाई विश्राम दिएँ ।  

तिमीले पनि एक वचन भनेनौ कि बाबाले देखाएको मार्गमा हिँड । न भन्यौ पढ, सक्षम बन । घरकी एक्ली छोरी म । बाबाले दाजु सरह अवसर दिन चाहे, आमाले छोरीमै सिमित राखिन् । 

जीत पनि आमाकै भो । यतिबेला खुचिङ्ग बजाउँदै होलिन् बाबालाई, छोरी बिगार्यौ भन्दै !  

साँच्चै बाबाले देखाएको सपना कुल्चिएपछिका तिमीसँगका एक दिन पनि सुखमय बितेनन्, रात त दूर ।  

धर्तीलाई सिरानी हाली कयौँ रात आकाशको ओढ्ने ओढेर कटाए थेँ मैँले ।  

त्यो समय तिम्रा गाउँ निकै पिछडिएको लागेथ्यो ।  

मेरा गाउँ त फरक थ्यो । अधिकांश पुरुषहरु श्रीमतीका गुलामी थिए, छन् पनि । कतिपय त श्रीमतीबाटै शोषित थिए, मौखिक हिंसा हुन्थ्यो । रैपनि सहन्थे ।  

मेरै घरको कुरा गरौँ न । मेरा दाजु श्रीमतीका कुरामा विश्वास गर्छन्, भ्रमित, नौटंकि, झुटा नै किन नहुन् । मेरा पीताश्री नै पनि आमासँग डराउँथे ! मेरी छिमेकी आन्टी पतिलाई लात मार्छिन् ! छिमेकी काकु, श्रीमतीकै भ्रमित जालिन्दर कुरा सुनेर आफ्ना बुढा आमा–बुवासँग छुट्टिए !  

नारी–पुरुष मिलेर बसेका उदाहरण पनि छन् मेरा गाउँमा, नारी–नारी मिलेको कतै नाइँ ! 

यानिर तिम्रा गाउँसँग मेल खाए । तिम्री आमा जस्ती महिला पनि थिए मेरा गाउँमा । ती छन् नि, पल्ला घरे साइँला बा क्या त उनले श्रीमतीकै कुरा सुनेर बुहारीलाई घरबाट घोक्राए थे ! तिम्री आमा र साइँली काकी उस्तै लाएथ्यो मलाई त्यतिबेला !  

तिम्री आमा आफूलाई नारीवादी भन्थिन् क्यार । ती साइँली काकी नि त्यसै भन्छिन् । साथी हुन् क्यार तिम्री आमाकी । पद पनि मिल्ने । कुन पार्टीकी नेत्री अरे ? बिर्सिगएँ ! 

एकदिन मैँले ‘सासु मा’ को भाषण सुनेकी थिएँ…‘नारीमाथिको हिंसा बन्द गर्नुपर्छ । हामी नारीले हिंसा सहेर बस्नु हुँदैन । पुरुष सरह अघि बढ्नुपर्छ । घरेलु हिंसा बन्द गर्नुपर्छ ।’ 

म तीनछक परेथेँ । भनाइ र गराइमा कति फरक ? कति जानेको महिलालाई बेवकुफ बनाउन ? नारी हिंसा रोक्न हिँडेकी महिला आफैँ हिंस्रक ?  

महिला भएर महिलामाथि नै शोषण गर्ने, बेघर बनाउने कस्ती चण्डाल आईमाई ?  

ती कविका शब्द मगजमा नघुसेका भए तिम्रा घरैले मेरा प्राण लुछ्थे । पर्दा पछाडिकी विचरी हुन्थेँ म अनि तिम्री आमा पर्दा अगाडीकी आदर्श सासु कहलिन्थिन् । धन्न बेलैमा तिमीसँग छुट्टिएँ ! आयुले पनि स्याबास्सी दियो । 

आज महिलाहरुले राष्ट्रिय, जातीय, भाषिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अधिकार प्राप्तिका लागि गरेको संघर्षको प्रतिफल मिलेको दिन । म तिमी र तिम्री आमालाई सम्झँदै छु !  

पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति नै सजिलो भएपनि व्यवहारिक रुपमा प्रयोगमा ल्याउन त्यति सहज पटक्कै छैन । 

नारीहरु स्वयम् पनि पितृसत्तात्मक सोचबाट माथि उठ्न सकेका छैनन् । यदी कुनै महिला आफ्नो क्षमता र संघर्षले माथिल्लो तहमा पुगिहालिन् भनेपनि उनीहरुको मनोबल गिराउने काम महिलाबाटै हुन्छ, जस्तो कि तिम्री आमा ! 

तिम्री आमाले मेरो खुट्टा नतानेकी थिइन् भने म पनि मन्त्री हुन्थेँ नि ! पार्टीले ओके गरिसकेथ्यो । लुकिछिपी पार्टीका काममा सक्रिए थिएँ, मेरा पनि योगदान थिए । कामको मूल्यांकन हुनेबेला तिम्री आमाले सुइँको पाइछिन्, भिलेन बनिदिइन् ! 

मेरी आमालाई मात्रै दोष लगाई भनौला नि फेरि, त्यस्ता महिला हाम्रो समाजमा अरु नभएका कहाँ हुन् र ? बस् मलाई उदाहरण दिन सजिलो भएर क्या ! 

तिम्री आमा नै संकुचित सोचबाट माथि उठ्न सकेकी थिइनन् विकृति र शोषणको घान चाहीँ बा लाई हाल्थिन् । म त तिमीलाई दोष लाउन्न हेर । मेरै कारणले तिमीले मेरा रहरलाई कुल्चिएका हौ ।  

म सहन्नथेँ, प्रतिकार गर्थेँ भने रक्सी धोकेर मेरा ढाड खुस्काउने तिम्रो आँट कहाँ ?  

हो, मलाई बदले कविका शब्दले । अचेल म आफैँमाथि प्रश्न गर्ने भएकी छु !  

मैँले किन प्रतिकार गरिनँ, ममाथिको हिंसा ? के मेरो अवस्था नाजुक थियो ? के म अशक्त, अपांग थिएँ ? काम गरेर खाने ह्याउ थिएन ? मेरा पाखुरी मर्किएका थिए ? नाइँ, थिएनन् । 

जसको गर्भमै नयाँ संसार फल्छ, फुल्छ, हुर्कन्छ, ऊ कसरी कमजोर ?  

व्यर्थैमा एक्लोपन र संघर्षदेखि डराएँ !  

डियर गल्र्स,  

श्रीमान्–श्रीमती भनेका त एक रथका दुई पांग्रा हुन्, एक विना अर्को अधुरो । बेकाम !  

श्रीमान् त यस्तो होस्, तिम्रा गह भरिँदा उसका आँखाबाट आँशु झरुन्, तिमीलाई चोट लाग्दा उसलाई दुखोस् । तिमी खुशी हुँदा ओठ उसको मुस्कुराओस् । तिम्रो सफलतामा नाचोस्, गाओस्, रमाओस् । 

लोग्नेको अर्थ, परिभाषा बुझेकी छ्यौ भने छोडिदेऊ तिम्रो चाहनामा ताल्चा लगाउने त्यो लोग्ने ! तिम्रो अस्तित्वको कदर नगर्ने, दमन गर्ने अत्याचारी लोग्ने साथमा नभएर के हुन्छ ?  

हेर त ! म पनि महिला हुँ, बाँचेकै छु त लोग्ने विना ! 

जब कि पुरुषले संघर्ष गरी छोराछोरी, श्रीमती पाल्न सक्छ भने हामी महिला किन सक्दैनौँ ? हामीमा आत्मविश्वास किन छैन ?  

सक्षम, आत्मनिर्भर हुने तरिका अनेक छन्, बस हामीले चाहनुपर्यो । जसरी एउटी केटी बलात्कार गर्न पुरुषका ग्याङ्ग मिल्छन्, त्यसरी नै प्रतिकार गर्न हामी नारी पनि मिलौँ त ?  

बलात्कृत भएकी महिलालाई लाञ्छना लगाउनतिर भन्दा बलात्कारीलाई सजाय दिनतिर लागौँ, अनि घरबाट निस्किन के को डर ? कसको डर ? अनाहकमा छुन आउनेलाई दिनुस् दनक । 

तपाईँलाई थाहा छ ?  

नेपालको संविधान २०७२ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने र धारा ३८ को उपधारा ३ मा महिलाविरुद्ध कुनै पनि किसिमको हिंसा जन्य कार्य वा शोषण गर्न नहुने र गरिएमा त्यस्तो कार्य दण्डनिय हुने र पीडितले क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ । यसलाई थप प्रभावकारी बनाउनका लागि २०७५ साल भदौ ८ गते सदनबाट महिलाविरुद्धको हिंसा संकल्प प्रस्ताव समेत पारित भएको थियो । 

गत वर्ष यसै समय छाउपडी गोठमुक्त नेपाल बनाउने भन्ने विषयमा संसदमै छलफल भएको थियो । तर कुप्रथाको संकुचित सोच अन्धविश्वास भत्काउन नसक्दा यो अन्त्य हुन सकेन । प्रहरी गएर सबै छाउगोठ भत्काउँदा पनि महिलाहरुले नै अभियान असफल बनाउन भूमिका खेले । कतिपय ठाउँमा रातारात छाउगोठ बने ।  

दाइजोका नाममा दर्जनौँ छोरीहरु मारिएका छन् । गत वर्षमात्रै १३ जना छोरीहरुले दाइजोकै कारण जीवन गुमाउनु पर्यो । गत वर्षमात्रै ४२ जना महिला बोक्सीका आरोपमा कुटिए । सीमा, संगीता, बसन्ती, जेनी, सम्झना, मुस्कानमाथि एसिड आक्रमण भए, उनीहरुको मुस्कान खोसियो । महिला हिंसाका बाहिर नआएका घटना त कति छन् कति । 

हामी विदुवा महिलालाई लाञ्छना लगाउँछौँ । श्रीमान् गुमाउँदैमा महिला किन विचरी ? के पुरुषविना उसको जीवनको औचित्य छैन ? पुरुष दश जनासँग सुतेपनि चोखो, महिला चाहीँ कसरी जुठो ?  

ऊ चाहीँ विदूर भएनि उसलाई कुमारी नै चाहिने ? त्यो रगतको टाटोसँग हाम्रो अस्मिताको सम्झौता कसले लगायो ? हामी आफैँले । महिनावारी छाउगोठमा गएर बार कसले भन्यो ? हामी आफैँले । 

एउटा सभ्य समाज बनाउन पुरुष मात्रै लागि परेर पनि हुँदैन, महिलाले पनि अन्धविश्वास, कुसंस्कारलाई तिलाञ्जली दिन सक्नुपर्छ । अब पनि हामी महिला सचेत भएनौँ भने कयौँ महिलाका मुस्कान जलिरहन्छन् !  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *