बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

चैत १२, लन्डन। बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण देखिएको छ। ७१ वर्षीय प्रिन्स अफ वेल्स चार्ल्समा संक्रमणको मध्यम लक्षण देखिएको बीबीसीले उल्लेख गरेको छ। चार्ल्स राजगद्दीका उत्तराधिकारी हुन्।
प्रिन्स अफ वेल्स महारानी एलिजावेथ द्वितीयको जेठो छोरा हुन्। उनी हाल स्कटल्यान्डमा आइसोलेसनमा बसेका छन्। चार्ल्स बस्दै आएको क्ल्यारेन्स हाउसका प्रवक्ताले राजकुमारमा भाइरस पोजिटिभ देखिएको पुष्टि गरेको छ। यस्तै उनको स्वास्थ्य अवस्था हाल राम्रै रहेको बताइएको छ।
‘प्रिन्स अफ वेल्सको कोरोना परीक्षण पोजिटिभ आएको छ। सामान्य लक्षण देखिएको छ। यद्यपि स्वास्थ्य राम्रो छ। केही दिनयता उहाँ घरबाटै काम गरिरहनु भएको छ,’ राजपरिवारको निवासले भनेको छ।

चार्ल्सकी श्रीमती क्यामिल्लाको पनि कोरोना परीक्षण गरिएको थियो। उनमा भने भाइरस संक्रमण नरहेको बताइएकको छ। दुई हप्ताअघि उनले मोनेकोका राजकुमार अलबर्टसँग भटेका थिए। त्यसयता उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए। यसअघि रानी एलिजावेथ बस्ने बकिंघम प्यालेसकी एक कर्मचारीमा समेत भाइरसको संक्रमण देखिएको थियो।
विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा चार्ल्स विभिन्न कार्यक्रममा देखिएका थिए। तर, भाइरस प्रति सजक हुँदै उनले कार्यक्रमहरुमा हात मिलाउनुको सट्टा नमस्कार गर्दै गरेको भिडियो सार्वजनिक भएका थिए। चार्ल्समा भाइरसको संक्रमण कसरी भयो भन्ने बारे हाल अनुसन्धान भइरहेको छ।








