नाकामा लापरबाही : सीमावर्ती बजार पुगेकाहरु चेकजाँच बिनै नेपाल छिर्नन्

चैत्र ७, धनगढी । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन सरकारले देशका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेको छ । नाकामा कडाईका साथ चेकजाँच गर्नपनि निर्देशन दिएको छ ।
त्यसअनुसार कैलालीको त्रिनगर भन्सार नाकामा पनि हेल्थ डेक्स राखेर चेकजाँच गर्ने कार्य भइरहेको छ । धनगढी उपमहानगरपालिकाले दुई हप्तादेखि नाकामा हेल्थ डेक्स सञ्चालन गरेर नेपाल भित्रिने व्यक्तिहरुको ‘थर्मल गन’ बाट चेकजाँच गर्ने व्यवस्था गरेको छ । तर, सीमावर्ती बजार पुगेर फर्किने नेपाली नागरिकलाई भने चेकजाँच गरिदैन । उनीहरुलाई जानेरै चेकजाँचबाट छुटाइन्छ ।
भारतबाट आउने भारतीय नागरिक सबैलाई चेकजाँच गरिन्छ भने नेपालबाट सीमावर्ती बजारसम्म पुगेर फर्किएका नागरिकलाई भने चेकजाँच गरिदैन । उनीहरुले आफुहरु वनगाउँबाट आएको भनेकै आधारमा चेकजाँचको पहूूँचमा ल्याँदैन अर्थात चेकजाँच नै गर्न नपर्ने भनेर निर्धक्क आउन दिइन्छ । कनमेललगायतका लागि त्रिनगर भन्सारदेखि झण्डै चार किलोमिटरको दुरीमा रहेको भारतीय बजार वनगाउँसम्म पुगेका नेपाली नागरिक निर्धक्कसम्म फर्किन्छन्् ।

धनगढीबाट ४४ किलोमिटरको दुरीमा रहेको भारतको पलिया पुगेर वा पलियाबाट आएका व्यक्तिहरुलाई भने चेकजाँच गरिन्छ । जबकी वनगाउँ बजारका व्यापारी पनि पलियाबाट नै आउँछन् । त्यहाँका व्यापारिक सामान पनि पलियाबाट नै दैनिक रुपमा ल्याउने गरिन्छ । अधिकांश व्यापारी पलियाबाट नै दैनिक रुपमा गाडीमा सामान ओसारेर वनगाउँमा व्यापार गरिरहेको हुन्छन् । जुन बजार नै अस्थायी हो । भारतको सबैभन्दा ठूलो दुधुवा नेशनल पार्ककै छेउमा रहेको हुँदा त्यहाँ स्थायी बजार राख्न दिइएको छैन । तर, पलियाबाट आउने भारतीय मान्छेसंग सम्पर्कमा रहेर आउने नेपाली नागरिकलाई भने नाकामा चेकजाँच नै नगरेर नेपाल आउन दिइने गरिएको पाइएको हो । यसले कोरोनाको जोखिम झन बढाएको छ । नेपाल सरकारले कोरोनाको जोखिम बढ्नसक्ने भनेर गम्मीर निर्णय गर्दै एसईईसमेत स्थगित गरेको अवस्थामा नाकामा यसरी लापरबाही गर्दा जोखिम बढेको छ ।
भारतमा कोरोनाको संक्रमण फैलिइसकेको छ । जसबाट बिहीबारसम्म तीन जनाको मृत्यु भइसकेको छ । कैयौं मानिसहरु संक्रमति बनिसकेका छन् । भारतकै उत्तरप्रदेशको लखनउमै पनि कोरोना संक्रमित भेटिएको जानकारीमा छ । धनगढीबाट लखनउ शहर दुई सय ५० किलोमिटरको दुरीमा पर्छ । त्रिनगर भन्सार नाकाकै पारिपट्टी भारतले गौरीफन्टा नाकामा जोकोहीलाई पनि सीमा पार गर्ने वित्तिकै चेकजाँच गरिरहेको छ । जबकी नेपालमा अहिले कोरोनाको संक्रमण नै देखिएको छैन । भारतले नेपालीलाई सीमा पार गर्दा चेकजाँच गरिरहेको अवस्थामा नजिकै वारीपट्टी रहेको नेपाली हेल्थ डेक्समा भने पलियाकै सम्पर्कमा रहेको अस्थायी बजार वनगाउँबाट आएका व्यक्तिलाई निर्धक्क नेपाल छिर्न दिइरहेको छ ।
कोरोना भाइरस फैलिएको देशको बजारसम्म पुगेर आएका व्यक्तिलाई नेपालतिर छुट दिइएको छ भने कोरोना नै नदेखिएको ठाउँबाट भारत जान लागेका व्यक्तिलाई भारतले सीमा पार गर्ने वित्तिकै चेकजाँच गरेर सतर्कता अपनाइरहेको छ ।
त्यस्तै, पेट्रोलियम पदार्थ बोकेका ठूला सवारी साधन, मालवाहक ट्रकलगायतका सवारीलालाई पनि चेकजाँच बिनानै नेपाल प्रवेश गर्न दिइरहेको छ । गौरीफन्टा नाकासंगै जोडिएको कञ्चनपुर जोड्ने सडकबाट पनि केही मानिसहरु हेल्थपोष्ट नपुगेरै नेपाल भित्रिरहेका छन् । उनीहरुको लेखाजोखा नै हुँदैन । त्यो बाटो प्रयोग नगर्नका लागि डोरीले छेकबार लगाउन खोजिएजस्तो गरिएपनि मोटरसाइकलसम्मका साधनहरु सहजै छिर्छन् । भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरिसकेका व्यक्तिहरुको केही मतलव राख्दैन भने नेपाली सुरक्षाकर्मीले त्यसको खासै ख्याल नगरेको पाइएको छ ।
सीमा नाकामै बिहीबार अनुगमनमा पुगेका राष्ट्रिय मानवअधिकार आयोगका प्रदेश निर्देशक झंकर रावलले भारतबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिहरुको चेकजाँच गर्न र अन्य बाटाहरु प्रयोग गर्न नदिन नेपाली सुरक्षाकर्मी र हेल्थ डेस्कका प्रतिनिधिहरुलाई सुझाव दिए । ‘कोरोनाविरुद्ध लड्न नाकामा अझै ध्यान दिनुपर्ने देखियो,’ उनले भने, ‘हामीले यसो गर्नुहोस् भनेर सुझावसम्म दिने हो आदेश दिन मिल्दैन ।’ उनले नेपाल प्रवेश गर्ने सवारीसाधनसहित हरेक व्यक्तिलाई चेकजाँच गर्नुपर्ने बताए । गम्भीर विषयमा पनि लापरबाही गर्न नहुने उनको भनाई छ ।
सीमा नाकामै रहेका नेकपाका एक नेता कमल विकले यस विषयमा सुझाव दिन सकिने बताए । ‘सबैलाई चेकजाँचमा ल्याउनु भएर हिजोनै सशस्त्रका डीएसपी सापले नै नाकामा खटिएका सुरक्षाकर्मीलाई भन्नुनै भएको थियो,’ उनले भने, ‘तर, वनगाउँसम्म पुगेर आएका व्यक्तिहरुलाई चेकजाँच गरिएको देखिदैन । यसका लागि पनि पहल गर्नुपर्ने देखिएको छ ।’ यद्यपि, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले हरेक दिन नाकामै गएर चेकजाँचको अवस्थाबारे निरीक्षण गर्दैआएका छन् । भारतको वनगाउँ पुगेर आउने व्यक्तिहरुबाहेक भन्सार नाकामा हरेक दिन दुई हजार जनासम्मको चेकजाँच गर्ने गरिएको हेल्थ डेक्सका अहेक दिनेश ठकुल्लाले जानकारी दिए ।








