तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीद्वारा मास्क वितरण

चैत १०, कालिकोट। नेपाल तरुण दलका केन्द्रीय महासचिव भूपेन्द्रजंग शाहीले कालिकोटमा मास्क वितरण गरेका छन्। कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिरहेको अवस्थामा शाहीले गृह जिल्लामा एक हजार मास्क वितरण गरेका हुन्।   

कोरोनाबारे सचेतना अभियानसहित मास्क वितरण गरिएको उनले बताए। ‘पहिलो चरण एक हजार मास्क वितरण गरिएको छ। बजारमा मास्कको अभाव छ। तर पनि थप मास्क खरिद गरी गाउँ गाउँसम्म वितरण गर्ने तयारीमा छौँ,’ उनले भने। महासचिव शाहीले यहाँका नागरिकको सेवामा आफू निरन्तर लागि परेको समेत बताए। 

उनले कालिकोटको विकास र समृद्धिको अभियानमा एक कदम पनि पछाडि नहट्ने प्रतिक्रिया दिए। कार्यक्रममा नेपाली काँग्रेस कालिकोटका सभापति हर्स बम र सहसचिव दमनबहादुर शाहीले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गाउँ गाउँमा कार्यकर्ता खटाइएको जानकारी दिए। उनका अनुसार नेपाली काँग्रेसले सरकारले गरेका कामहरूमा साथ दिँदै जनताको जिउ धनको रक्षाका लागि सबै भातृ संस्थाहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूलाई खटाइएको छ।   

गाउँवासीहरुलाई एक ठाउँबाट अर्को ठाउँमा नजान, भीड, भेला तथा अन्य कार्यक्रमहरू नगर्न, दैनिक साबुन पानीको प्रयोग गर्न, घरायसी सरसफाइका साथै सुरक्षित ठाउँमा बस्नका लागि अपिल गरिएको छ। कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका कार्यवाहक अध्यक्ष जगतजंग विष्टले कोरोनाबाट जनतालाई जोगाउन सचेतनामूलक अभियान सुरु गर्ने बताए। उनले भने, ‘नेविसंघ कालिकोट गाउँ गाउँमा पुग्छ। एक व्यक्ति एक घरमा गएर कोरोना भाइरसको संक्रमणबाट जोगिन अपिल गर्छ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =