‘के सरकारले सिङ, पखेटा र पुच्छर भएको भाइरस हेर्न खोजेको हो ?’

चैत्र ५, काठमाडौँ । सामाजिक अभियन्ता तथा चर्चित कलाकार श्रीकृष्ण सिम्खडाले तत्काल देशभरिका शैक्षिक संस्थाहरू बन्द नगरे देशभर भयावह स्थिति आउने बताएका छन् । बुधवार रिपोटर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिम्खडाले सबै शैक्षिक संस्था बन्द गर्नुपर्ने माग राखेका हुन् ।   

उनले यसअघिपनि कोरोनाबाट बच्नको लागि पूर्वतयारीस्वरुप देशभरिका विद्यालय बन्द गर्नुपर्छ भनेर आग्रह गरेको स्मरण गराउँदै आफ्नो मागप्रति वर्तमान सरकार गम्भीर नभएको समेत गुनासो गरे ।   

कलाकार सिम्खडाले कोरोनाको प्रभाबाट जोगिनको लागि सबैभन्दा पहिले सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बेलामा सरकारी अधिकारीहरूबाटै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आइरहेकोमा समेत आक्रोश पोखे । उनले नेपालमा कोरोनाको सङ्क्रमण देखिएको छैन भनेर सरकार कानमा तेल हालेर बस्ने बेला नभएको उल्लेख गर्दै दायाँबायाँ नसोची तत्काल विद्यालय बन्द गराउनतर्फ सरकारले कदम चाल्नुपर्ने पनि सुझाव दिए ।   

सिम्खडाले प्रश्न गरे,‘के सरकारले सिङ, पखेटा र पुच्छर भएको भाइरस हेर्न खोजेको हो ? भाइरसको त्यस्तो केही हुँदैन । सरकारले पुच्छर र पखेटा भएको भाइरस हेर्न खोजेको हो भने सरकार भ्रममा छ । सरकार चाँडोभन्दा चाँडो यो भ्रमबाट मुक्त हुनुपर्छ । र, उसले जिम्मेवार पूर्वक कदम चाल्नुपर्छ ।’ अहिलेको समय घर्किए भोलि यही समय र अवसर आफूहरूले गुमाउन सक्नेतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।   

उनले सरकारले आकस्मिक निर्णय गरेर देशभरिका सुरु भएका र अब सुरु हुने सबै परीक्षाहरू स्थगित गर्नुपर्ने पनि तर्क गरे । उनले भने,‘सरकारले सबै परीक्षाहरू स्थगित नगरे देशमा भयावह स्थिति समेत सिर्जना गर्छ भन्ने पनि म यही मञ्चबाट भन्न चाहन्छु ।’ स्थानीय निकायले आफ्नो क्षमता र गच्छेअनुसार भोलि हुनसक्ने सङ्क्रमणलाई ध्यानमा राखेर ‘क्वारेन्टाइन’ को व्यवस्था गर्नुपर्ने पनि उनले सुझाव दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *