कोरोना जाँच गर्दा चिकित्सकले लगाउने ड्रेस बनाउन अघि सरे महावीर पुन

चैत ११, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि यसलाई कसरी सामना गर्ने भन्नेमा सरकार र नागरिक तहबाट विभिन्न पहलहरु भइरहेका छन्। तर, कोरोनाको परीक्षणदेखि उपचारसम्मका प्रक्रियामा आवश्यक विभिन्न सामग्रीहरुको अभाव रहेको कुरा सञ्चारमाध्यममा आएका छन्।
खासगरी कोरोनाको बिरामी जाँच गर्दा चिकित्सकले लगाउनुपर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) ड्रेसको अभाव देखिएको छ। यसका लागि नेपालले छिमेकी देशहरु गुहारीरहँदा देशभित्रै यसको उत्पादन गर्न अन्वेषक महावीर पुन अघि सरेका छन्। उनले आफैं स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत पीपीई उत्पादन गर्ने प्रक्रिया थालेका हुन्।
पुनका अनुसार त्रिवि शिक्षण अस्पताल काठमाडौं र वीपी अस्प्ताल धरानबाट त्यस्तो ड्रेस बनाउनका लागि आविष्कार केन्द्रमा अनुरोध आएको थियो। त्यस बमोजिम आविष्कार केन्द्रले ड्रेसको डिजाइन तयार गरिरहेको छ। साथै, ४०० वटा जति ड्रेस बनाउन चाहिने सामग्री पनि उपलब्ध भएको पुनले जानकारी गराएका छन्।
फेसबुकमा एक स्टाटस लेख्दै पुनले यी ड्रेसहरु सिलाउनका लागि टेलर आवश्यक परेको बताएका छन्। ‘यदि तपाईंहरु कसैले कपडा सिलाउने टेलरहरुलाई चिन्नुभएको छ र यो काममा सहयोग गर्न चाहनुहुन्छ भने तुरुन्त मर्लाइ सम्पर्क गर्नुहोस। सो ड्रेसको डिजाइन र ड्रेस बनाउने सामान उपलब्ध गराइने छ अनि टेलरको ज्याला पनि उपलब्ध हुने छ,’ पुनले भनेका छन्।








