लकडाउनको सातौं दिनः धरानमा थप कडाइ

चैत्र १७, सुनसरी। कोरोना भाइरस (कोभिड-१९)को जोखिम कम गर्न देशभर लकडाउन कडा पारिएसँगै सोमबारबाट धरानमा समेत लकडाउन कडा पारिएको छ।
लकडाउनको छैटौँ दिनसम्म बिहान ३ देखि ६ बजेसम्म धरानको पालिका तरकारी बजारमा तरकारी किन्ने व्यवस्था गरिदा अत्यधिक भीड बढेकोले आजबाट त्यहाँ कडाइ गरिएको छ। अत्यावश्यक तरकारीका लागि अहिले धरान १३ कृषि बजारबाट मात्र उपलब्ध हुने गरी व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए।
लकडाउन कडाइ गरेकै कारण अहिले लकडाउन उल्लंघन गर्ने सर्वसाधारण नगन्य भएको डिएसपी न्यौपानेले बताए। उनले एम्बुलेन्स, दूधका गाडी देखि अत्यावश्यक बाहेकका निजी सवारी साधन धरानमा गुड्न छाडेकाले धरानको सडक सुनसान रहेको समेत बताए।

यस्तै अहिले बढी भिडभाड नहोस् र सम्भावित कोरोनाको जोखिम कम गर्न धरानका व्यावसायिक फर्महरू बराह ग्रुप प्रालि, गोरखा डिपार्टमेन्ट स्टोरले फोन सम्पर्कमार्फत घरघरमा तरकारी पुर्याउने काम गरेको छ। धरान उपमहानगरपालिकाले समेत कृषि बजारसँग समन्वय गरेर सर्वसाधारणलाई तरकारी आपूर्ति गर्ने व्यवस्था मिलाएको धरान उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफलेले बताए।
सर्वसाधारणले समेत लकडाउनको इमानदारीपूर्वक पालना गरेका छन्। आज बिहान सब्जी लिन पालिका तरकारी बजार जाँदा सर्वसाधारणलाई बीचबाटोबाटै सुरक्षाकर्मीहरुले फर्काएको धरान १५ की सरस्वती थापाले बताइन्। यस्तै लकडाउनलाई कडा बनाउन उपमहानगरपालिकाले धरान उपमहानगर क्षेत्रमा प्रहरी, नगर प्रहरीसँगै विभिन्न राजनीतिक दलका ८० जना युवा स्वयंसेवकको रूपमा परिचालन गर्ने भएको छ।
नेकपाबाट २५ जना, नेपाली काँग्रेसबाट २५ जना, सङ्घीय समाजवादीबाट १० जना, लिम्बूवानबाट ५ जना, खम्वुवानबाट ५ जना, राप्रपाबाट ५ जना, मंगोलबाट ५ जना गरी जम्मा ८० जनालाई विशेष ओरेन्टेसनपछि धरानका विभिन्न स्थानमा आजबाट खटाइने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए। राजनीतिक दलका ८० जना स्वयंसेवक युवाहरूलाई आज सोमबार २०–२० जनाका दरले ११ बजे, १२ बजे, १ बजे र २ बजे धरान उपमहानगरपालिकामा ओरेन्टेसन दिइएको छ।
ओेरेन्टेसन पछि भोलि मंगलबारदेखि धरानका विभिन्न स्थानहरूमा उनीहरूलाई खटाइने धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले जानकारी दिइन्।








