सीमा नाका बन्द गर्ने सरकारी निर्णयको राजपाद्वारा स्वागत

चैत्र १०, काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सीमा नाका बन्द गर्ने सरकारी निर्णयबाट पर्न सक्ने असरलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने सरकारको निर्णयलाई सहज रुपमा स्वीकार गर्न राजपाले आग्रह गरेको हो। 

सरकारले आइतबार चीन र भारतसँग जोडिएका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो। भोलि पर्न सक्ने संकटका लागि सजग हुनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै राजपाले सरकारी निर्णयको स्वागत गरेको छ। 

राजपा अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले भारतसँग जोडिएको खुला सिमाना बन्द गरी सतर्कता अपनाउने सरकारी निर्णय स्वागतयोग्य रहेको बताए। संयोजक भण्डारीले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर जीवनयापन गर्न पनि आग्रह गरेका छन्। 

कोभिड-१९ को जोखिम बढ्दै गएको बेला भ्रामक र तथ्यहीन हल्लाहरु बढेको उल्लेख गर्दै उनले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर अनुशासित जीवनयापन गर्न अपिल गरे। भिडभाड हुने ठाउँमा नजाने, अनावश्यक रुपमा बाहिर नगई आफ्नै घरमा सुरक्षित बस्न सरकारले दिएको निर्देशनलाई इमान्दारीपूर्वक पालना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =