विदेशबाट आएकाहरुको निगरानी गर्दै स्थानीय तह

चैत्र १३, चितवन । चितवनका स्थानीय तहले हालै विदेशबाट आएकाहरुको पहिचान गरि सावधानी अपनाउन सक्रिय भएका छन् ।
कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहले वडाहरुलाई विदेशबाट आएकाहरुप्रति चनाखो हुन भनेपछि त्यस्ता व्यक्तीहरुको निगरानी बढाइएको हो ।
संघीय सरकारको आदेश बमोजिम स्थानीय तहले वडा कार्यालयहरुलाई हालै स्वदेश आएकाहरुको बारे विवरण लिन भनेको छ । अत्यावश्यक बाहेकका सरकारी कार्यालय पनि बन्द भएपछि जनप्रतिनिधीहरु स्वदेश आएकाहरुको खोजीमा लागेका हुन् ।

खैरहनी नगरपालिका प्रवक्ता रामशरण पाण्डे पछिल्लो समय स्वदेश आएकाहरुको खोजीमा लागि परेको बताउँछन् । ‘विश्वव्यापी रुपमा कोरोना फैलिएकाले स्वदेश आएकाहरुको निगरानी बढाईएको छ’, प्रवक्ता पाण्डेले भने, ‘उनीहरु अवस्थाबारे विवरण लिदै शंका लागेमा भरतपुर कोरोना विशेष अस्पताल पठाइएको छ ।
रोगका संक्रमण नभएपनि सुरक्षाका लागि कतिपय आफ्नै घरभित्रै बसेको पाइएको समेत प्रवक्ता पाण्डेले जानकारी दिए । खैरहनी नगरपालिकाले इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा विदेशबाट आएकाहरुको खोजी गरि विवरण संकलन गर्दै सुरक्षित रहन आग्रह गरिरहेको छ । प्रहरी कार्यालयका प्रमुख ऋषिराम घर्तीनै यो कार्यमा खटिएका छन् ।
चितवनकै रत्ननगर नगरपालिकाले पनि हालसालै विदेशबाट आएकाहरुको विवरण संकलन गरि स्वास्थ्य परिक्षणमा पठाउने काम गरिरहेको छ । बिहीबार रत्ननगर १२ र १३ बाट केही व्यक्तिहरुको पहिचान गरि कोरोना विषेश अस्पताल भरतपुरमा स्वास्थ्य परिक्षण गराइएको छ ।
कोरोना अस्पतालसम्म पुग्नका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाईएको छ । विदेशबाट आएका २८ जनालाई सम्पर्कमा ल्याई स्वास्थ्य जाँच गरिएको छ ।








