दक्षिणकाली नाका हुँदै दैनिक १५० मानिस उपत्यकाबाट बाहिरिँदै

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि दक्षिणकाली नाका हुँदै दैनिक १५० भन्दा बढी मानिस पैदलै राजधानीबाट बाहिरिन थालेका छन् ।   

लकडाउन भए पनि दैनिक धेरै मानिस दक्षिणकाली नगरपालिकाको मार्ग भएर बाहिरिन थालेपछि ठाउँठाउँमा साबुन पानीको व्यवस्था गरी हात धोएर मात्र यात्रा गर्न आह्वान गरिएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जनाइन् । यसरी बाहिरिनेमा तराई मूलका धेरै मानिस छन् ।   

नगरवासीलाई घरमै बसी बाहिर ननिस्कन पर्चा वितरण गरिएको छ । नगरपालिकाले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेको सूची तयार पार्न वडा कार्यालयलाई पत्राचार गरेको जानकारी पनि उनले दिए । सूची तयार भएपछि वडाकै खाद्यान्न पसलबाट खाद्य सामग्री दिने तयारी नगरपालिकाले गरेको छ ।   

null

नगरवासीको अनुरोधमा नगरपालिकाले हालै विदेशबाट फर्किएका ११ जनाको ज्वरोलगायत स्वास्थ्य जाँच गरेको छ । कतार, भारत, दुबई, श्रीलङ्का, जापानलगायत देशबाट फर्किएकाको स्वास्थ्य जाँच गरिँदा हाल ठिक भए पनि १४ दिनसम्म एकान्तबासमा रहन अनुरोध गरिएको उपप्रमुख तामाङले बताए ।   

नगरपालिकाले चलाएको गार्मेन्टबाट उत्पादन भएको मास्क सबै वडाका ज्येष्ठ नागरिक, एकल महिला, मधुमेह, रक्तचापलगायत रोग लागि उच्च जोखिममा रहेकालाई वितरणका लागि वडा वडामा पठाएको छ । नगरपालिकाको वडा नं १ चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्वरो आई कोरोनाको शङ्का लागेका बिरामीलाई राख्न १० शय्या तयार पार्न लागिएको जनाइएको छ ।   

लकडाउनका कारण अत्यावश्यक ग्यास, खाद्यान्नलगायतको अभाव हुनसक्ने भएकाले नगरपालिकाको अनुगमन समितिले नियमितरूपमा प्रहरीको सहयोग लिएर अनुगमनसमेत गरिरहेको छ । खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद गर्न पसल जाँदा सुरक्षित हुने गरी दुई मानिसका बीच दूरी कायम गर्न पनि नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । राससरासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =