संसदमा गगनको प्रश्न-‘नेपालमा इरानको जस्तो अवस्था भयो भने के गर्ने ?’

फागुन २३, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ । 

बैठकमा काँग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन् । थापाले प्रस्तुत गरेको सो प्रस्तावमा सांसद सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन गरेका थिए ।  

सो प्रस्तावमा कोभिड–१९ को जोखिमका हिसाबले १५औँ संवेदनशील मुलुकमा रहेकाले यस स्थितिमा पूर्वतयारी र रोकथामका लागि पर्याप्त काम हुन नसकेको तर सरकारबाट उच्चस्तरीय समन्वय समन्वय समिति गठन हुनु सराहनीय रहेको उल्लेख छ ।   

प्रस्ताव पेश गर्दै थापाले कोरोना भाइरस फैलन नदिन र इरानको जस्तो अवस्था आउन नदिन के गर्ने भनि प्रश्न गरेका छन् ।  ‘अहिलेसम्म नेपालमा संक्रमणको कुनैपनि दुःखद घटना सुन्न नपरेको सुखद अवस्था छ । तर यो सुखद अवस्था हामीसँग सँधैभरी रहिरहन्छ त ? हाम्रो अगाडिको ठूलो प्रश्न हो । इरानको जस्तो अवस्था भयो भने के गर्ने ?’ उनले प्रश्न गरे ।   

उनले कुनैपनि संक्रमणको घटना नसुने ठाँउकबाटै एकै पटक दुईजनाको मृत्यु भएको खबरले अब कामना मात्रै गरेर बस्ने समय नरहेको बताए ।  

प्रस्तावमा उक्त भाइरसबारे आम जनतामा सही ढङ्गले  सूचना दिई नेपाल बाहिर रहेका नेपालीको व्यवस्थापन र नेपाल भित्रिने पर्यटकको व्यवस्थापन गर्न माग गरिएको छ ।   

“यो कुनै एउटा मन्त्रालय र सरकार वा निकायको मात्र जिम्मेवारी होइन, व्यक्ति समुदाय सबैतहका सरकार गैरसरकारी र साझेदार संस्था सबै एक ठाउँमा रहेर यस चुनौतीको सामना गर्नुपर्छ”, प्रस्तावमा भनिएको छ, “विश्वव्यापी जनस्वास्थ्य आपत्कालको यस अवस्थामा नेपालको सम्भाव्य जोखिमसँग जुध्नका लागि सबै तह र निकाय एकजुट हुनुपर्ने भएकाले यसलाई साझा अभियान र राष्ट्रिय सङ्कल्पका रुपमा अगाडि बढाउन आवश्यक छ ।”   

जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै सांसद थापाले तयारी गर्दा गर्दै पनि सङ्क्रमण फैलियो भने अहिले नै गर्नुपर्ने काम केहो भन्ने विषयमा तयारी गर्नु जरुरी रहेको बताए । उनले भाइरस सङ्क्रमण हुन नदिन सबैको आआफ्नो जिम्मेवारी रहेको बताए । यसका लागि एकीकृत कार्ययोजना आवश्यक भएको सांसद थापाले बताए ।   

कसले के काम गर्ने भन्ने कुरा स्पष्टरुपमा व्यवस्थापन गर्नुपर्छ भन्दै थापाले संसद्बाट विशेष नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। बाहिरबाट आएका केही विदेशी सहजरुपमा नेपाल प्रवेश भएको र उनीहरु कहाँ छन् भन्नेबारेमा सरकारले ध्यान दिन नसकेको भन्दै उनले सरकारलाई गम्भिर हुन आग्रह गरे ।   

सो प्रस्तावमा सत्तापक्ष र प्रतिपक्षका सांसदले छलफलमा भाग लिँदै कोरोना भाइरसको संवेदनशीलतालाई मनन गरी सम्भाव्य जोखिमको न्यूनीकरणका लागि व्यवस्थापकीय प्राविधिक तयारीमा जुट्न आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + two =