धरानका एकल महिलालाई आत्मनिर्भर बनाउने प्रयास

फागुन ३०, धरान । धरानमा एकल महिलालाई आत्मनिर्भर बनाउने प्रयास थालिएको छ । धरान-१८ का महिलालाई घरमै बसेर स्वरोजगार बनाउने उद्देश्यले धुप र माला बनाउने सीपको तालिम दिन थालिएको हो ।  

योसँगै धरान वडा नम्बर -१८ ले महिलालाई आत्मनिर्भर कार्यको सुरुवात गरेको छ । धरान वडा -१८ का अध्यक्ष प्रविण राईले चालु आर्थिक वर्षमा लक्षित वर्गको बजेटबाट कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार नारी स्वतन्त्र मञ्च धरानले तालिमको आयोजना गरेको हो । वडा नम्बर -१८ को सभा हलमा दिइएको तालिममा २५ जना महिलाको सहभागी रहेको थियो । 

तालिममा पत्रकार तथा घरेलु धुप व्यवसायी निमा पोङ्स्युवाले घरेलु धुप बनाउने तालिम दिएका थिए भने हिमाली भेगमा पाइने सुनपाती भैरुङपातिबाट बन्ने हाते धुप बनाउने तरिका सिकाएका थिए । आफनै गाउँघरमा पाइने स्थानीय धुपलाई प्रयोग गरी घरमै बसीबसी बनाउन सकिने खालको धुप बनाउन सिकाइएका हुन् । 

त्यस्तै सोही तालिममा चार दाने  मोतीमाला बनाउने तालिम  हातेमालो महिला उद्यमी समूहकी अध्यक्ष लिला ढकालले दिएकी थिईन् । तालिम समापन कार्यक्रम वडा सदस्य तथा १८ वडाका महिला बालबालिका संयोजक जमुना त्रिखत्री मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सोही कार्यक्रममा त्रिखत्रीले तालिममा महिलाहरु उत्साहित बनेर सहभागी भएर तालिम लिएकोमा आफू खुशी भएको बताएकी थिइन् ।   

समय अभावका कारण भनेजस्तो तालिम लिन नपाएको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।  तालिममा सहभागीमध्ये सीता राईले मोतिमाला हातमा लगाउने बाला लगायतको गरगहना बनाउन सिकेको बताइन् । स्वतन्त्र नारी मञ्चका अध्यक्ष बिना पुमाराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेली समूहकी धरान–१८ अध्यक्ष पूर्णमाया राई, नारी एकता समूहकी सचिव रिता राई लगायतले शुभकामना बधाई मन्तव्य राखेकी थिइन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *