गर्भावस्थामा एन्टिबाइटिक सेवन गरे शिशुमा देखिन्छ बहिरोपना !

फोटो श्रोतः गुगल
फागुन २०, काठमाडौं । कान हाम्रो शरीरको संवेदनशील अंगमध्ये एक हो । यसको हेरचाहमा थोरै मात्र तलमाथि भइहाल्यो भने बहिरोपना हुन सक्छ । बहिरोपना एक त जन्मजातै तथा वंशाणुगत कारणले हुन सक्छ भने अर्को हाम्रो लापरवाहीका कारण हुन सक्छ ।
हाम्रो कान दुई वटा हुन्छ । हरेक कानको बाहिरी कान, मध्य कान र भित्रि कान हुन्छ । हरेकको आफ्नो–आफ्नै काम हुन्छ । बाहिरी कान र मध्य कानले सुनाइमा सहयोग गर्छ, भने भित्री कानले शरीरको अगंलाई सुचारु गर्न सहयोग गर्छ ।

बाहिरी कानमा सबैभन्दा बढी कानेगुजी आएर समस्या हुन्छ । त्यसैगरी घाउ आउँदा तथा हुँदा पनि समस्या आउन सक्छ । त्यस्तै मध्य कानमा बढी सङक्रमण हुन्छ । लामो र छोटो समयका लागि यस्तो समस्या देखिन्छ ।
छोटो समयसम्म हुने सङक्रमणमा एन्टिबायोटिक खाएपछि ठीक हुन्छ भने लामो समयसम्म संक्रमण भएमा कानको जालीमा समस्या आइ प्वाल समेत पर्ने हुन्छ । अर्को कानको हड्डी पनि कुहिन सक्छ इन्फेक्सन भएमा । चिकित्सकको परामर्श बमोजिम अवस्था हेरी उपचार पनि गर्न सकिन्छ ।
भित्री कानको समस्या भने उमेर बढ्दै गएपछि देखिन्छ। विशेष गरेर ५५ वर्ष माथिको उमेर समूहलाई यस्तो समस्या देखिन सक्छ । यो उमेर समूहका मान्छेहरुमा विस्तारै श्रवण शक्ति कमजोर हुँदै जान्छ । श्रवण गर्ने नशाको शक्ति कम हुँदै जाने अथवा सुक्ने हुँदा श्रवण शक्ति कम हुन्छ । यस्तो अवस्थामा श्रवण मेसिन प्रयोग गर्न सकिन्छ ।
कानमा देखिने समस्याहरु
कान दुःख्ने ।
चिलाउने । कानेगुजी भरिने, निकाल्दा दुख्ने ।
श्रवण शक्ति कमजोर हुने ।
कान पाक्ने । पीप निस्कने । सुन्निने । रातो हुने ।
कान बन्द भएजस्तो लाग्ने ।
कानमा तेल, पानीको प्रयोग कत्तिको उचित ?
कानमा तेल, पानीको प्रयोग गर्न नहुने नेपाल मेडिकल कलेजका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रुपेशराज जोशी बताउँछन् । कानमा पानी अथवा तेल हाल्दा कान पाक्न सक्ने समस्या आउने उनको भनाइ छ । उनका अनुसार नुहाउँदा, पौडी खेल्दा कानमा पानी पस्न दिनुहुँदैन । त्यस्तै कान सुख्खा भएमा तेलको सट्टा चिकित्सकको सल्लाह अनुसार इयर ड्रपको प्रयोग गर्दा कानमा समस्या आउँदैन । त्यस्तै नियमित सरसफाइ पनि गर्नुपर्छ ।
गर्भावस्थामा एन्टिबाइटिक औषधी सेवन गरे शिशुमा देखिन्छ बहिरोपना !
आमाले गर्भावस्थामा अत्यधिक एन्टिबाइटिक औषधीहरु प्रयोग गरेको अवस्थामा पनि बहिरोपना देखिन सक्ने डा. रुपेशराज जोशी बताउँछन् । उनका अनुसार अन्य देशहरुमा शिशु जन्मनेबित्तिकै
बहिरोपनाको समस्या पहिचान गर्न सकिन्छ ।
नेपालमा पनि केही अस्पतालमा शिशुहरुको बहिरोपना परिक्षण गर्ने मेशिन छ । यसबाट उनीहरुको श्रवण क्षमता बुझ्न सकिन्छ ।
बहिरोपनाबाट कसरी जोगाउने शिशु !
बच्चाहरुलाई दुध अथाव झोल पदार्थ पिलाउँदा टाउकाको भाग घाँटीभन्दा अलिकति माथि हुनुपर्छ ।
टाउको भँटीभन्दा तल भयो भने अथवा घाँटी झोलियो, टाउको झोलियो भने मुखबाट नाक हुँदै नाकको कानसम्म पुगी इन्फेक्सन हुन्छ । जसले शिशुमा बहिरोपना निम्त्याउन सक्छ ।
त्यस्तै तेलको प्रयोग नगर्ने । कान सफा राखिदिने । चिसो, रुघाखोकी, एलर्जीबाट बच्चालाई जोगाउने ।
कानको लागि इयरफोन हुन सक्छ घातक ? यस्तो छ उपचार र स्याहार ?
पछिल्लो पुस्ताहरु कानमा इयरफोन लगाएर म्युजिक सुन्ने गर्छन् । यसले कानको नसा सुकाउँछ र बहिरोपनाको समस्या ल्याउन सक्छ ।
‘कानमा इयरफोन प्रयोग गर्दा यसले तत्काल असर नगरेपछि उमेर ढल्कदै जाँदा कानको नसा सुकेर श्रवण शक्ति कम हुँदै जाने र बहिरोपना देखिने हुन सक्छ’, डा. जोशीले भने ।
सकेसम्म कानमा इयरफोनको प्रयोग नगर्ने । यदि गर्नै परे नियमित नगर्ने, छोटो समयसम्म मात्रै गर्ने । यदि लामो समयसम्म इयरफोन प्रयोग गरियो भने हेयरिङ्ग पावर लस हुँदै जाने उनको भनाइ छ ।
यदी कानमा घाउ भएको छ भने त्यसलाई सफा गर्नुपर्छ । सकेसम्म घाउ हुन दिनु हुँदैन । कानबाट पीप आएमा चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ । मुख्य कुरा रुघाखोकी र चिसोबाट बच्नुपर्छ । कानमा तेल, पानीको प्रयोग नगर्ने । चर्को आवाजबाट टाढै रहने र सधैँ कान सफा राख्ने गरेमा बहिरोपनाबाट बच्न सकिन्छ ।








