पूर्व डिआईजी रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ घोषणा

फागुन २९, काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ घोषणा भएको छ ।
आज (बिहीबार) राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘हाम्रो नेपाल सुशासन अभियान’ को घोषणा गरिएको हो ।
पूर्वडीआईजी खरेलले आज काठमाडौंमा एक कार्यक्रमकाबीच राजनीतिक दलमासमेत रूपान्तरण हुन सक्नेगरी सो अभियानको औपचारिक घोषणा गरेका हुन् ।

अभियानमार्फत् भ्रष्टाचारको विरोध, राजनीतिक शुद्धीकरण, सुशासन, विधिको शासन लगायतका पक्षमा वकालत गर्ने अभियान घोषणा कार्यक्रममा पूर्व डिआईजी खरेलले बताए ।
अभियानमा देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव, रोशन श्रेष्ठ लगायत छन् ।
यसअघि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा घोषणा हुनुअघि नै त्यसबाट खरेलसहित केही व्यक्ति बाहिरिएका थिए ।
रमेश खरेल आफ्नो काममा जति अनुशासित थिए, संगठनको आलोचनामा त्यत्ति नै अनुशासनहीन थिए, उनी संगठनको आलोचना रोक्न सक्दैनथे । खरेल नगरकोटमा इन्स्पेक्टरको रुपमा स्थानीय प्रहरी कमाण्ड सम्हालेदेखि आफ्नो इमानदारी र बहादुरी कार्यकै कारण चर्चामा आएका थिए ।
सरकारले सर्वेन्द्र खनाललाई २०७४ माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि खरेलले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए । खरेल आफ्नो इमानदारी पूर्ण प्रहरी कार्यका कारण नेपाली जनताहरू माझ निकै लोकप्रिय रहेका छन् । उनी नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत हुन् ।
काठमाडौंका एसपी हुँदा नेपालीहरुलाई अवैध रुपमा प्रवेश गराउने क्यासिनो विरुद्ध उनले धावा नै बोलेका थिए । त्यतिबेला उनको काम कारबाही देखि क्यासिनो मालिकहरु आतंकित थिए । उनी काठमाडौंको एसएसपी हुँदा हनुमान ढोकामा रहेको एसएसपीको कोठा सर्वसाधारणका लागि सधैँ खुल्ला रहने गर्दथ्यो ।








