संविधानको सफल कार्यान्वयनबाट सङ्घीयता स्थापित हुन्छ : मन्त्री त्रिपाठी

फागुन १८, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संविधानको सफल कार्यान्वयनबाट सङ्घीयता स्थापित हुने बताएका छन् । शमी साहित्य प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री त्रिपाठीले नेपालको संविधान अन्य मुलुकका तुलनामा विशिष्ट र मौलिक भएकाले यसको कार्यान्वयनको विकल्प नभएको जनाए ।
उनले भने, “नेपालको संविधान जनताका प्रतिनिधिले बनाएका हुन् । केन्द्र, प्रदेश र स्थानीय तहका आफ्नै अधिकार र समावेशिताका दृष्टिले यो मौलिक छ । हामी सबै यसको कार्यान्वयनमा लागौँ । सङ्घीयताको भविष्यबारे चिन्ता नगरौँ । संविधानको कार्यान्वयन हुँदा सबै कुरा कार्यान्वयन हुन्छ ।”
कार्यक्रममा समाजशास्त्री डा डम्बर चेम्जोङले ‘सङ्घीयताको कार्यान्वयनमा बौद्धिक वर्गको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विद्यमान सङ्घीयता केन्द्रीयताकै अर्को रुप भएको जिकिर गरे। सो अवसरमा ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरविनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई संयुक्तरुपमा दिइयो । पुरस्कारको राशि संयुक्त रु एक लाख ११ हजार १११ छ ।

पुरस्कारका लागि विसं २०७५ मा प्रकाशितमध्ये प्रतिष्ठानलाई प्राप्त ८४ कृतिमध्येबाट पहिले उत्कृष्ट पाँच छनोट गरी अन्तिममा दुई कृति पुरस्कृत गरिएको हो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले बताए ।
कार्यक्रममा उक्त पुस्तक खरीदकर्तामध्ये गोलाप्रथाबाट पुस्तक क्रमसङ्ख्यामध्ये ११ हजार २१ र नौ हजार ३५९ ले रु २५ हजार राशिको ‘बादलभित्रको घाम पाठक पुरस्कार’ पाउने घोषणा गरियो । प्रतिष्ठानका संरक्षक एवं निबन्धकार डोलिन्द्रप्रसाद शर्माको निबन्धसङ्ग्रह ‘बादलभित्रको घाम’ पुस्तकको बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार स्थापना गरिएको हो । पुडासैनीको कृतिमा मधेश–तराई गाथा र अर्यालको कृतिमा नारीवादी आत्मिक प्रेम वर्णन भएको जनाइएको छ ।
‘बादलभित्रको घाम’ पहिलो संस्करणमै १३ हजारप्रति र पुनःमुद्रण गरी कूल २५ हजारप्रति प्रकाशन भएको जिकिर गरिएको छ । पुरस्कारको अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यानुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ ।
रासस








