गीता समाएर कमल थापाले खाए कसम : अब पार्टी फुट्न दिन्न

फाइल तस्वीर
फागुन २८, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राप्रपालाई नफुटाउने र फुट्न नदिने कसम खाएका छन् । उनले भागवत गीतामा हात राखेर आफूले पार्टी नफुटाउने र फुट्न नदिने कसम खाएका हुन् ।
राष्ट्रिय सभागृहमा बुधबार आयोजित पार्टी एकता समारोह कार्यक्रमलाई सम्बोधन गर्दैकसम खाएका हुन्।

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार पुनः औपचारिकरुपमा एकता भएको छ ।
उनले राप्रपालाई जनविश्वास प्राप्त हुन एकताबाहेक अरु उपाय नभएको जिकिर गरे ।
दुई पार्टीबीच एकता गर्नेगरी शनिबार १० बुँदे समझदारी भएसँगै (आज) बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो ।
समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागीता रहेको छ ।
एकतापछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाई र चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिइने राप्रपाले जनाएको छ ।
यस्तै पार्टीको एजेण्डा राजतन्त्र र हिन्दुराष्ट्र हुनेछ ।
२०७३ मङ्सिरमा एकीकृत भएपछि फेरि फुट्न पुगेको राप्रपाको पटक पटकको प्रयासपछि बुधबार एकता भएको हो । २०७३ मंसिरमा हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर एकीकृत राप्रपा गठन भएको थियो ।








