कोरोनाबाट बच्न महानायक राजेश हमालले भने–‘नेपाली संस्कारमा नमस्कार गर्नुहोस’

चैत्र ८, काठमाडौं । महानायक राजेश हमालले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन आम नागरिकलाई सचेत गराएका छन् । महानायक हमालले आज फेसवुकमा एक भिडियो प्रकाशित गर्दै विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोनाको अहिले सम्म भ्याक्सिन पत्ता लागि नसकेको र उपचार समेत शुरु नभइसकेकोले सचेत रहनुको विकल्प नरहेको बताएका छन् ।
हमालले आफ्नो दैनिकी समेत कोरोना भाइरसका कारण प्रभावित भएको बताउँदै आम नागरिकले पनि सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेका छन् । ‘मेरोपनि दैनिक कार्यहरु प्रभावित भएको छ, विभिन्न कार्यक्रमहरुमा जान सकिरहेको छैन । यस्तो परिस्थितिमा हामी सबैले आआफ्नो सुरक्षा गर्नुपर्छ र सचेत रहनुपर्दछ ।’ हमालले भनेका छन् ।
महानायक हमालले आम नागरिकलाई भिडभाडमा मिस्सिएर कार्यहरु नगर्न आग्रह गरेका छन् । ब्यक्तिहरुलाई छुने, अंकमाल गर्ने जस्ता कार्यहरुबाट टाढै रहन भनेका छन् । ‘विशेषगरी आफ्नो सरसफाइमा अत्यन्तै ध्यान दिनुहोला । त्यसमापनि हात महत्वपूर्ण हो, जतापनि जान्छ, बाहिरबाट आइसकेपछि २० देखि २५ सेकेण्डसम्म राम्ररी हात हुनुहोस ।’

हमालले भेटघाट गर्दा हात मिलाउन भन्दा नमस्कार गर्न आग्रह गरेका छन् । नेपालीको सम्मान गर्ने संस्कार अत्यन्त राम्रो भएको बताउँदै हात मिलाउने भन्दा नमस्कार गर्न भनेका छन् । ‘नेपालीहरुको संस्कार अपनाउनुहोस, कोरोना भाइरसबाट हामीले पाठ सिक्न सक्छौं । हाम्रो नमस्कार गर्ने संस्कारलाई प्रयोग गरौं ।’ उनले नमस्कार गर्दा हाम्रो संस्कारको संरक्षण पनि हुने बताएका छन् । उनले हाच्छिउँ गर्दा, खोक्दा सजग हुन, नाक मुख छोप्न, घरमै बस्न भनेका छन् ।
साथै हमालले आम जनताको स्वास्थ्य प्रति राज्य जिम्मेवार हुनुपर्ने बताएका छन् । भने, स्वास्थ्यलाई ब्यवसायका रुपमा नहेर्न आग्रह गरेका छन् । स्वास्थ्यलाई प्राथमिकतामा राखेका निती योजना बनाउन भनेका छन् । उनले यो परिस्थितिबाट विश्वले, हाम्रो नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । स्वास्थ्य र वातावरणलाई प्राथमिकतामा राख्नुपर्ने महानायक हमालले सन्देश दिएका छन् ।
https://www.facebook.com/rajesh.hamal.5872682/videos/2582016988679809/








