टेकु र धरान अस्पतालको आइसोलेसनबाट भागेका व्यक्तिमा कोरोना फोबिया !

फागुन २४, काठमाडौं । टेकु र धरानको अस्पतालको आइसोलेसन वार्डबाट भागेका व्यक्तिमा कोरोना फोबिया भएको चिकित्सकले बताएका छन् । 

दक्षिण कोरियाबाट आएका ती व्यक्तिलाई कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । उनी त्यहाँबाट भागेका थिए । टेकुबाट भागेका ती व्यक्ति विराटनगरमा फेला परेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखियो तर, उनी त्यहाँबाट पनि भागे ।   

आफूलाई कोराना संक्रमण भएको बताउने ती व्यक्तिलाई कोराना संक्रमण नभई कोराना फोबिया भएको चिकित्सकको भनाई छ । उनको स्वास्थ्य परीक्षण गर्दा सामान्य देखिए पनि बारम्बार आफूलाई कोरोना भएको दाबी गरेपछि काउन्सिलिङ गरेर आइसोलेसनमा राखेको अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले बताए ।   

उनका अनुसार काउन्सिलिङकै क्रममा उनी कोरोनाबाट निक्कै नै त्रसित थिए । अन्य मूलुकबाट नेपाल भित्रिएकाहरु कोरोनाको त्रासमा अस्पताल जाने क्रम बढ्दो छ । टेकु अस्पतालमा दैनिक त्यस्ता बिरामीको संख्या बढिरहेको पनि प्रवक्ता बास्तोलाले जानकारी दिए ।   

पछिल्लो समय मौसम परिवर्तनसंगै चलेको फ्लुका कारण पनि सर्वसाधारणमा कोरोनाको त्रास बढेको चिकित्सकको भनाई छ । अब आइसोलेसन वार्डमा नेपाल प्रहरीका साथै मनोवैज्ञानिक परामर्शदातालाई पनि खटाइने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =