संसद र स्कूल राेक्न सांसदहरुको माग !
फागुन २९, काठमाडौं । सांसदहरुले विश्वभर कोरोनाको त्रास फैलिएको भन्दै संसद नचलाउन माग गरेका छन् ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद भरत शाह र भीमसेनदास प्रधानले कोरोनाको संक्रमण फैलिरहेका बेला संसद चलाउन नहुने बताएका हुन् ।
सांसद साहले कोरोनाको संक्रमण फैलिरहेका बेला संसद धेरै दिन चलाउनु हुँदैन कि ? भन्दै प्रश्न गरे ।
त्यस्तै सांसद भीमसेनदास प्रधानले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्व महामारीको घोषणा गरिसकेको उल्लेख गर्दै भीडभाड हुने ठाउँमा कोरोना सर्ने जोखिम उच्च भएका कारण संसद र स्कूल बन्द गर्नुपर्ने बताए ।
युरोप र अमेरिकासमेत त्रस्त भइरहेका बेला नेपाल पनि सचेत हुनुपर्ने उनको भनाइ छ । संक्रमण फैलिसकेपछि रोक्न सक्ने पूर्वाधार नेपालसँग नभएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनले तीन महिनाअघि सुरू भएको कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार विश्वव्यापी महामारी घोषणा गरेको थियो ।
बुधबार पत्रकार सम्मेलनमार्फत् डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेका थिए । उनले भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए ।
कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी चीनियाँ छन् भने इटली दोस्रो स्थानमा छ । इटलीले महामारी घोषणा गर्दै करिब ६ करोड जनतालाई घरभित्रै रहन निर्देशन दिइसकेको छ ।