आव्हान भएको २४ घण्टा भित्रै नगरको फुड व्याङ्कमा धरान जेसीजको सहयोग
१८ चैत्र, धरान । मानवताको सेवा जीवनको सर्वोतम कार्य हो भन्ने आस्था लिएको धरान जेसीज वर्ष २०२० को विशेष सक्रियतामा धरान उपमहानगरपालिकाको फुड व्याङ्क लाई धरान जेसीजले विशेष सहयोग हस्तान्तरण गरेको छ ।
धरान उपमहानगरपालिकाले कोरोनाको कारणले गरिएको लकडाउनबाट खाधान्न संकट भएका परिवारलाई सहयोग गर्ने उदेश्यले स्थापित सो व्याङ्कमा धरान जेसीजले जेसीज परिवारको मात्र आन्तरिक सहयोगमा एक हजार किलो (१ टन) मन्सुली चामल जम्मा गरेको हो ।
आज सम्पन्न एक कार्यक्रममा नगरप्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई धरान जेसीजका अध्यक्ष दिपेन्द्र निरौलाले सो चामलको वोराहरु हस्तान्तरण गरेका छन् ।
संकटको समयमा हामी यूवाले सक्रियता नदेखाए कस्ले देखाउने, समयमा नगरे कहिले गर्ने भन्ने उदेश्यले स्थानीय प्रशासनसँग सहकार्य गरेर मात्र सो कार्य गर्ने योजना अनुरुप धरान जेसीजले प्रारम्भिक चरणको आपतकालिन मानविय सहयोग कार्य गरेको अध्यक्ष निरौलाले बताए ।
सो कार्य सफल बनाउन धरान जेसीज सिंगो परिवार सक्रिय रहँदै, संयोजन समूहमा जेसी रोहन हाडा, जेसी राजु शाह, जेसी दिनेश तामाङ लगायतको विशेष सक्रियतामा सो कार्य सम्पन्न भएको थियो ।
नगरले आव्हान गरेको २४ घण्टा पनि नवित्दै धरान जेसीजले गरेको यो विशेष पहलको लागि नगरप्रमुख राईले यो कार्य उदाहरणीय भएको र एकद्वार प्रणालीबाट कार्य गर्दा सवैलाई सहज हुने विचार व्यक्त गरे ।
कार्यक्रम सामाजिक दुरी कायम गर्दै, मास्क र पञ्जा प्रयोग गरि थोरै सदस्यको उपस्थितिमा सम्पन्न गरिएको थियो ।