कालोबजारीविरुद्ध अब प्रहरी कठोर बन्छ

चैत्र ५, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताएका छन् ।   

महानगरीय प्रहरी वृत्त लैनचौरले बुधबार यहाँ आयोजना गरेको ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले कोभिड–१९ को त्रास देखाएर केही व्यापारीले कालोबजारी गरेको भन्दै त्यसका विरुद्ध नेपाल प्रहरी लाग्ने विश्वास व्यक्त गरे ।   

“विपद्का बेला सहयोगका साथ अगाडि बढ्नुपर्नेमा केही व्यवसायी र विचौलिया अत्यावश्यक सामग्रीलाई कृत्रिम अभाव खडा गर्न लागेका छन्, त्यस्ता व्यापारीविरुद्ध प्रहरीले निर्दयी भएर कारवाही अगाडि बढाउँछ”, उनले भने । एक नेपालीले अर्कौ नेपालीलाई ठग्ने प्रवृत्तिको अन्त्य गरिने उनको भनाइ थियो ।   

उनले ठमेललाई शान्त र सुरक्षित बनाउन स्थानीय समुदायको सहकार्यमा प्रहरी अगाडि बढ्ने बताए । सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी लागिरहेको उनको भनाइ थियो । नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले अपराधमुक्त समाज निर्माणका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।   

काठमाडौँ महानगरपालिका–१७ का वडाध्यक्ष नवीन मानन्धरले प्रहरीसँग सहकार्य गरेर समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीय सरकारले प्रहरीलाई सहयोग गर्ने विश्वास व्यक्त गए । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोल, समाजसेवी देवेन्द्र रिमाल, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङलगायतले समाजमा हुने अपराध नियन्त्रणमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही अवसरमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति तथा सङ्घसंस्थालाई सम्मानसमेत गरिएको थियो ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =